July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बार्जुगाडको पुल निर्माण अलपत्र

 

बाजुरा, असार १३ गते

बाजुराको खप्तड छेडेदह ३ र बूढीगङ्गा नगरपालिकाका ४ को बीचमा पर्ने बार्जुगाड खोलाको पुल निर्माणको काम ढिलाई भएको छ । बेलामाडौं डेल्टा सडक खण्ड अन्तर्गतको बार्जुगाड खोलामा निर्माण हुन थालेको ४५ मिटर लम्बाई पुल आठ वर्ष हुँदा पनि निर्माण सम्पन्न भएको छैन ।

सो पुल २०७६  साल असारसम्म काम सम्पन्न गर्नेगरी अछामको साउँद एडभेन्चर जेभीले २०७२ सालको असारमा झण्डै २ करोड रुपियाँमा निर्माण कार्यको जिम्मा लिएको थियो । जिम्मा लिएको ८ वर्ष भएपनि सो पुल निर्माणको काम नसकिएपछि यहाँका स्थानीयलाई आवगमन कार्यमा निकै असहज भएको स्थानीय बताउँछन् ।

लामो समयसम्म पुल निर्माणको काम सम्पन्न नहुँदा वर्खाको समय यहाँका स्थानीलाई खोता तर्न निकै समस्या हुने गरेको छ । खोलामा पुल नभएकै कारण असार १० गते खप्तड छेडेदह गाउँपालिका ४ ग्वानीकी अन्दाजी २३ वर्षीया संगिता साउँदले अकालै ज्यान गुमाएको स्थानीयको गुनासो छ ।

खप्तड छेडेदह गाँउपालिका वडा नं ३ पुडावाउँलाका स्थानीय खडक खड्काले खप्तड छेडेदह ३ बूढीगङ्गा नगरपालिका ४ को बिचमा पर्ने बार्जुगाड नदिमा निर्माणाधिन पुलको काम ८ वर्षसम्म पनि सम्पन्न नभएपछि अहिले यहाँका स्थानीयले वर्खाको समयमा खोला तर्न निकै सास्ती खेप्दै परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पुलको छेउमै मेरो पसल छ, अहिले सम्म पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा वर्खाको समय यहाँका बालबालिकाहरुलाई समेत विद्यालयमा जान आउन निकै समस्या भएको छ ।”

गत वर्खाको समयमा कयौं बालबालिकाहरुले खोला तर्न नसकेपछि आफैंले उनीहरुलाई विद्यालयमा जाने बेलामा पीट्यू लाएर खोला वारपार गर्ने गरेको खड्काले बताउनुभयो ।

बाजुराको बेलामाडौं डेल्टा सडक खण्डको बार्जुगाड नदिमा ८ वर्षदेखि पुल निर्माणको काम अलपत्र परेको छ खड्काले भन्नुभयो, “पुल निर्माण गर्ने म्याद सकिन्छ, ठेकेदारले फेरि म्याद थप्दै जान्छन्, हाम्रो समस्या भने जसो पहिला थियो अहिले पनि उस्तै छ ।”

आर्थिक वर्ष २०७५-०७६ सालको असारमा सम्पन्न गर्ने गरी २०७२÷०७३ सालको असारमा जिल्ला विकास समिति बाजुराले झण्डै २ करोड रुपियाँमा अछामको साउद एडभेन्चर जेभीले जिम्मा दिएको थियो ।

स्थानीय खडक खड्काका अनुसार ठेकेदार वा कस्को कम्जोरीका कारणले पुल निर्माणको काम समयमै सम्पन्न नहुँदा पुल निर्माणको काममा ढिलाई भएको खड्काले भन्नुभयो । यता पुल निर्माणको जिम्मा लिएका साउँद एडभेन्चर जेभीका प्रोपराइटर इश्वर साउँदले पहिला लेआउट गरेको ठाउँमा पहिरोले जमिन बगाएपछि अर्को ठाउँको स्वास्लटेष्ट गर्दा समय लागेपछि पुल निर्माणको काम ढिलाइ भएको बताउनुभयो । उहाँले अहिले स्वाइटेष्टको रिपोर्ट आएपछि अर्को ठाउँमा पुल निर्माण गर्ने काम जारी छ, अहिले झण्डै ७० प्रतिशत पुल निर्माणको काम भएको बताउनुभयो ।

ग्यालेक्सी इन्जिनियरिङ्ग कम्पनीमा सामान अर्डर गरेको दुई वर्ष हुँदासम्म पनि उपलब्ध नगराएकोले पुल निर्माण ढिलाई भएको हो । “दुई वर्षपछि मात्र समान दियो तर आधा समान मात्र उपलब्ध गरेको छ । त्यो सामान बाजुरा पुगाइ सकेको छ”, उहाँले भन्नुभयो ।

बाजुर्गाड खोलामा ट्रष्ट ब्रीज निर्माण गर्नु पर्ने हो । पुलको केही समाग्री कम्पनीले नै उतैबाट जडान गरिदिन्छ, त्यो सामाग्री सानो गाडीमा ढुवानी गर्न समस्या हुन्छ, बाटो छैन ठुलो गाडी त्यो खोलामा जाँदैन, गाडी नजाने भएकोले सामाग्री लान नसकेपछि पनि काम गर्न ढिलाइ भएको साउँदले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय साँफेबगरका कार्यालय प्रमुख रुद्धबहादुर बोगटीले, जिल्ला विकास समिति नयाँ संरचना अनुसार निष्कृय भएसँगै अहिले सो पुल निर्माणको काम कार्य सडक पुर्वाधार विकास कार्यालय साँफेले लिएको बताउनुभयो । उहाँले पुल निर्माणको जिम्मा लिएको ठेकेदारको लापरबाहीका कारण काम हुन नसकेपछि फेरि अहिले एक वर्षको म्याद थप गरिएको छ, त्यो म्यादसम्म पनि काम गर्न नसकेपछि आवश्यक अनुसार अर्को विकल्प खोजिने बताउनुभयो ।