मोरङ –
जिल्ला प्रशासन कार्यालय, मोरङमा नागरिकता लिनेको भीड लाग्न थालेको छ। नागरिकतासम्बन्धी नयाँ ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउन थालेसँगै जिप्रकामा भीड लागेको हो।
सोमबारबाट नागरिकता लिनेको भीड बढेसँगै प्रशासन कार्यालयलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार नागरिकता लिनेको संख्या बढ्दो छ। उनले भने, ‘सोमबारबाट मोरङमा नागरिकता वितरण सुरु गरेका गरेका हौँ। हिजो र आज दुवै दिन भीड व्यवस्थापनमा सकस परेको छ।’
कार्यालयले भीड व्यवस्थापन गर्नका लागि टोकन प्रणाली सुरु गरेको सहायक प्रजिअ पोखरेलले बताए। उनका अनुसार असारसम्मका लागि मंगलबार दिउँसो नै टोकन वितरण गरिसकिएको छ।
यसैबीच मोरङको धनपालथान गाउँपालिका–६ बाट नागरिकता लिन कार्यालय पुगेका २६ वर्षीय मनोज मुखियाले असार २६ गतेको टोकन पाएका छन्। नागरिकता पाउने आशामा मुखिया बिहान ३ बजेदेखि नै लाइनमा लागेको बताउँछन्।
मुखियाले भने,‘बिहानको ३ बजेबाट लाइनमा लागेको छु। भोकै छु। तर टोकन पाएँ। खुशी लागेको छ। अहिले लागेको भोक पनि मेटिएको छ। केही क्षणको सास्ती असार २६ गतेबाट सधैँका लागि हट्ने बुझेको छु।’
नागरिकता वितरणको पहिलो दिन सोमबार असार २२ गतेसम्मका लागि एकैपटक टोकन वितरण गरेसँगै मंगलबार पुरै असार महिनाका लागि टोकन उपलब्ध गराइएको हो।
प्रशासन कार्यालयले दैनिक ४० वटा नागरिकता वितरणका लागि ३ जना कर्मचारी अलग्गै खटाएको छ। भीड व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
मोरङ प्रशासनमा प्रमुख जिल्ला अघिकारी वीरेन्द्रकुमार यादवसहित ४० जना कर्मचारीको दरबन्दी छ। दुई जना अधिकृतसहित चार जनाको दरबन्दी भने रिक्त रहेको छ।
सोमबार १ सय २८ जनालाई नयाँ ऐनअनुसार नागरिकता वितरण गरिएको थियो। मोरङमा जिल्ला प्रशासन कार्यालयसहित इलाका प्रशासन कार्यालयहरु रंगेली र उर्लाबारीबाट पनि नागरिकता वितरण भइरहेको छ।
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे