भैरहवा —
सिद्धार्थनगर नगरपालिकाले आगामी आव २०८०/८१ का लागि १ अर्ब १३ करोड ४१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाको १३ औं अधिवेशनमा उपप्रमुख उमा अधिकारीले पूर्वाधार विकास र आर्थिक सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आइतबार बजेट पेस गरेकी हुन् ।
अधिकारीले चालु आर्थिक वर्षभन्दा २१ करोड बढी बजेट घटाएर पेस गरेकी छन् । चालु आर्थिक वर्षमा १ अर्ब ३४ करोड आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोडमात्र आम्दानी भएको कारण बजेटको आकार घटाउनु परेको छ ।
संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, ससर्त अनुदानमा २८ करोड ५४ लाख, समपुरक अन्दान ८० लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ र राजस्व बाँडफाँडमा १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाको प्रक्षेपण छ ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, ससर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैयाँ, समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख अधिकारीले बताइन् ।
नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँडको रकम ५ करोड रुपैयाँ, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ रुपैयाँ गरी १ अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान गरेको उनले बताइन् ।
यसअघि नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कृषि, पर्यटन, उद्योग, व्यापार र शिक्षा र हराभरा बुद्धभूमि सिद्धार्थनगरको ईच्छा’ भन्ने नगरपालिकाको दीर्घकालीन सोच रहेको बताए ।
नगरपालिकामा सुशासन कायम गर्दै सर्वाङ्गिण क्षेत्रको संस्थागत विकासमा जोड दिइने, कृषिको आधुनिकीकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग–व्यापार क्षेत्रको विस्तार र विविधीकरणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै समावेशी विकासमा जोड एवम् दिगो विकास, वातावरणमैत्री कार्यक्रम तथा वातावरण संरक्षणमा जोड दिइने नगर प्रमुख खानले बताए ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै