December 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पहिलो काम म मन्त्रालयमा सधैँ बस्ने गरेको छुः रहबर अन्सारी

वीरगञ्ज –

मधेस प्रदेशका मन्त्रालयमा मन्त्रीहरू नै नबस्ने गरेको जनगुनासोपछि आफू मन्त्री भएपछि सधैँ मन्त्रालयमा बस्ने गरेको उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले बताएका छन्।

वीरगञ्जमा शनिबार आयोजित तन्नेरीसित मन्त्री कार्यक्रममा उनले प्रदेशका मन्त्रालयमा मन्त्रीहरू ६/६ महिनापछि एकचोटि मात्रै बस्ने गरे पनि आफू सधैँ जनताको सेवाका लागि मन्त्रालयमा निरन्तर बस्ने पहिलो कार्य गरेको बताए।

‘मन्त्रीहरू त मन्त्रालयमा बस्दै बस्दैनन् सेवाग्राही भन्छन् म मन्त्री भएपछि सधैँ मन्त्रालयमा बस्ने गरेको छु,’ उनले भने, ‘६–६ महिनामा एकपटक मन्त्रालयमा मन्त्री भेटिने परम्परा अन्त्य गरेको छु।’

मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेकै कारण कर्मचारीलाई पनि मन्त्री भएको स्थानमै पुगेर फाइलमा सही गराउनुपर्ने अवस्था रहेको राज्यमन्त्री अन्सारीको भनाइ थियो। काम गर्ने कर्मचारीको साथमा आफू सदैव रही आएको जानकारी दिँदै उनले गलत काम गर्ने कर्मचारीलाई भने कुनै हालतमा नछोडिने बताए।

अन्सारीले आफ्नो मन्त्रालयमातहतका डिभिजन वन पर्साका सहायक वन अधिकृतले घुस लिएको प्रमाण भेटेपछि तत्कालै उनलाई मन्त्रालयबाटै निलम्बन गराइदिएको बताए।

‘कर्मचारीहरू मन्त्रीको पछि लागेर फाइलमा सही गराउनुपर्ने अवस्था अन्त्य गर्छु, काम गर्ने कर्मचारीको साथमा म सदैव छु,’ उनले भने, ‘काम नगर्ने कर्मचारीलाई भने कुनै हालतमा छाडिन्न गलत गरेको प्रमाणित भए सिधै जागिर जान्छ।’

मधेस प्रदेशमा पर्यटन विकासको नाममा मठ मन्दिर, मदरसाका लागि अघिल्लो मन्त्रालयले बजेट लगानी गरिसकेको बताए।
मन्त्रालयमा आफू मन्त्री बनेर जाँदा इन्टरकम फोन सेवासमेत नभएको भेटिएकाले कर्मचारी र मन्त्रीबीचको आन्तरिक कुराकानीका लागि इन्टरकम टेलिफोन सेवा जडान गर्न लगाएको बताए।