September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बालविवाह कसुरमा एक वर्ष तीन महिना कैद

 

सप्तरी

पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ।

कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताए।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो।

यसैगरी आरोपितलाई बहुविवाहमा १० हजार रुपैयाँ र बालविवाहमा तीन हजार रुपैयाँ जरिवाना समेत भएको छ। यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा चार सय रुपैयाँ जमा गर्नुपर्ने फैसला भएको छ।

जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमानले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन्। प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९–८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन्।