July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अध्यक्ष नेपाल भन्छन्– कोको ‘सेन्टीफ्ल्याट’ खाने हो थाहा छैन

 

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेकपा (एमाले)प्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

पार्टीभित्र धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिइएकाले एमालेका नेताहरू दंग परेको उनको भनाइ छ । आश्वासन दिइएका व्यक्तिलाई एमालेले अन्तिममा ‘सेन्टीफ्ल्याट’ खुवाउने उनले बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई ‘देखाइदिएको’ पनि बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने प्रस्ट पारे ।

“अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने, दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को–को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हो,” उनले भने, “हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ । के मूल्य छ यिनीहरूको भन्नेहरू भन्दै गरून् । हन्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।”

उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको जिकिर गरे । “किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको, खोलामा बगिरहेको पानीजस्तो छैन ? यथास्थिति रहँदैन ? सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को–को छ ? एउटा नेपाली कांग्रेस, अर्को (एकीकृत समाजवादी) छ,” उनले भने, “यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन ? कहाँबाट उदायो त्यहाँ ? ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो सुरुआत हो ।”

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा रहनु नै एमालेका लागि धक्का भएको जिकिर गरे ।