July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

समाजवादीका सचेतक ज्वालालाई सुविधा दिन सचिवालयले गर्‍यो अस्वीकार

काठमाडौँ –

संघीय संसद सचिवालयले एकीकृत समाजवादीका सचेतक प्रकाश ज्वालालाई सुविधा दिन अस्वीकार गरेको छ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको मापदण्ड नपुगेको भन्दै सचिवालयले समाजवादी सचेतकलाई सुविधा नदिने भएको हो।

ज्वालाले प्रमुख सचेतकको हैसियतमा आफूले गाडी तथा अन्य सुविधा पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए। तर मागअनुसार सुविधान नदिइने संसदका एक अधिकारीले जानकारी दिए।

‘उहाँसहित अरु केही मान्य ज्यूहरुले पनि सुविधा उपलब्ध गराइ दिन आग्रह गर्नुभएको छ। सुविधा सम्बन्धी ऐनले तोकेको मापदण्ड नपुगेकाले निर्णय भएको छैन,’ ती अधिकारीले भने।

संसदमा १० भन्दा बढी सिट भएको दलका प्रमुख सचेतकलाई गाडी सुविधा दिनुपर्ने व्यवस्था ऐनले गरेको छ।

संसदका प्रवक्ता एकराम गिरीले ऐनले १० भन्दा बढी सिट भनेकाले १० सिट मात्रै भएको दललाई सुविधा दिने व्यवस्था गरेको जानकारी दिए। उनले भने, ‘१० भन्दा बढी भनेको ११ हो। १० नै त होइन।’

सोमबार संसदका उच्च तहका कर्मचारीहरुले सभामुख देवराज घिमिरेसँग यो विषय छलफल गरेका थिए। छलफलपछि उनीहरु एकीकृत समाजवादीका प्रमुख सचेतकको सुविधा नदिने निष्कर्षमा पुगेका हुन्।

त्यस्तै ६ सिट मात्रै भएको जनमत पार्टी, ४ सिट भएको लोसपा र ३ सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि गाडी सुविधाका लागि निवेदन दिएका छन्। साना दल भए पनि सचिवालयले कार्यालय र त्यहाँ खटिने कर्मचारीको भने व्यवस्थापन गरेको छ।

सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, विपक्षी दलको सचेतक र समिति सभापतिलाई सवारी तथा अन्य खालका थप सुविधा दिने गरेको छ।