July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

‘द गडफादर’ लाई आइएमडिबीमा उछिन्यो तामिल फिल्म ‘जय भिम’ ले

तामिल फिल्म ‘जय भिम’ले आइएमडिबीमा हालसम्मकै चर्चित हलिउड फिल्म ‘द गडफादर’ र ‘ससांक रिडेम्पसन’ लाई पछि पारेको छ। दर्शकहरूले आइएमडिबीमा सबैभन्दा शीर्ष फिल्मको मूल्यांकन दिएसँगै ‘जय भिम’ ले ठूला फिल्मलाई उछिनेको हो।

टिजे ग्नानाभेलको निर्देशनमा बनेको ‘जय भिम’ कठोर हिन्दु जातीय शासनको तल्लो तहमा रहेका दलितहरूमाथि गर्ने दमनका कथामा आधारित छ। यो फिल्ममा ठूला जातका व्यक्तिले दलितलाई गर्ने व्यवहार र अन्यायको चित्रण गर्छ।

यो फिल्मको मुख्य पात्र तामिल स्टार सुरियाले खेलेका छन्। यहाँ उनी एक धर्मयुद्ध वकिलको रूपमा देखिन्छन्। आफ्नो श्रीमानलाई पुलिस हिरासतमा राखेर पछि बेपत्ता घोषित गरेपछि एक गर्भवती महिलाले सुरियालाई निवेदन दायर गर्छिन्। अनि उनी यो मुद्दा लड्छन्। यसै कथा वरिपरि यो फिल्म घुमेको छ।

बिबिसीका अनुसार ‘जय भिम’ तामिल सिनेमामा नयाँ आन्दोलनको हिस्सा बनेको छ, जहाँ कयाैँ युवा फिल्म निर्माताले दलित विरुद्धको दमनका कथा सुनाउँदै छन्। विगत तीस वर्षमा तामिलनाडुमा दलित आन्दोलन बढ्दै गएको छ। यसमा पनि यहाँका केही दलित फिल्म निर्माताहरूले यस विषयमा आधारित भएर दलित कलाकारलाई नै मुख्य भूमिकामा राखेर फिल्म बनाइरहेको फिल्म इतिहासकार एस थिओडोर बास्करनका बताउँछन्।

‘जय भिम’ यसै वर्ष आएको फिल्म हो। यो फिल्म थिएटरमा रिलिज भएको थिएन। त्यसैले बक्सअफिसमा यसको चर्चा धेरै छैन। यता आइएमडिबीमा भने यसले दर्शकबाट ९.६ मूल्यांकन पाएको छ। ‘द गडफादर’ले आइएमडिबीमा ९.२ मूल्यांकन पाएको छ। यसैगरी, ‘ससांक रिडेम्पसन’ले भने ९.३ मूल्यांकन पाएको छ।