रामप्रवेश बैठा,रौतहट असार २०
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र कार्यपालिकाका दुई सदस्य निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका हुन् । कटहरिया नगरपालिका २ स्थित जमुनिया बजारमा रहेको एउटा सामुदायिक भवनमा आ.व. २०७८÷०७९ मा टायल्सको कामको लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले अनुसन्धान गर्दा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैया ९५ पैसाभन्दा बढी भुक्तानी लिई–दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि अख्तियारले विहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय ग र ङ बमोजिमको कसुरमा बिगो १२ लाख ५२ हजार ९४१ रुपैया ९५ पैसा कायम गरी बिगो, बिगोबमोजिम जरिवाना र कैद मागदावी गरी विशेष अदालतमा नगर प्रमुख अजय प्रकाश, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेश कुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।
यसै गरी बौद्धिमाभई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध समेत १२ लाख ५२ हजार ९४१ रुपैया ९५ पैसा बिगो मागदाबी लिएर मुद्दा दायर भएको छ । साथै उपमेयर रीतादेवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम साह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलाको हकमा भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा २ बमोजिमको कैद र जरिवाना सजाय हुने मागदावी गरिएको छ । नगर प्रमुख र उपप्रमुखसहित अन्य विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको खबर बाहिरिएपछि कटहरिया नगरपालिकामा हंगामा मच्चिएको छ । कटहरिया नगरपालिका ४ का वडाध्यक्ष चन्दन कुशवाहा र ५ का वडाअध्यक्ष सरफ लाल गुप्ताले कटहरिया नगरपालिकालाई भ्रष्टाचारको समुद्र बनेको बताउँदै अख्तियारले राम्रो गरेको प्रतिक्रिया दिएका छन् । एक डेढ वर्षदेखि विभिन्न सबारी तथा विकास निर्माणका अत्यावश्यक साधनहरु नगरपालिकामा थन्किएर बसेको तर एक करोड रुपैया इन्धनमै मात्र जाने गरेको बताउँदै स्वाएल टेस्टको नाउँमा ४५ लाख रुपैया स्वाहा पार्नेसम्मको काम नगर प्रमुखले गर्दै आएको वडाध्यक्ष कुशवाहको भनाइ छ ।
वडाध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाका चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । नगर प्रमुख, उपप्रमुख तथा अन्य केही महत्वपूर्ण र जिम्मेवार व्यक्तिहरु निलम्बित भएपछि कटहरिया नगरपालिका र यहाँका जनता बदनाम हुनु दुर्भाग्य भएको वडाध्यक्ष कुशवाहाको दुःखेसो रहेको छ । कटहरिया नगरपालिकामा अनियमितता भइरहेको विषयमा बारम्बार समाचारहरु आइरहेका छन् । करिब दुई वर्ष पुरानो मुद्दामा अख्तियारले कारबाही गरेको छ तर कटहरियामा व्यापक अनियमितता रहेको निर्वाचित प्रतिनिधिहरुले नै बताउने गरेका छन् ।
More Stories
नदीमा बेपत्ता बालकको शव फेला
करेन्ट लागेर एकजनाको मृत्यु
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त