December 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा एकतर्फी यातायात सञ्चालन

 

पाल्पा

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपलिका ८, गौडेपुल नजिकै खसेको पहिरो पन्छाएर राजमार्ग एकतर्फी रुपमा खुलेको छ । पहिरो सफा गर्दागर्दै सडक डिभिजन कार्यालयको डोजरको टायर पन्चर भएपछि सडक खुलाउन ढिलाइ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।

सडक एकतर्फी खुलाएर साना सवारी साधन, मोटरसाइकल र अत्यावश्यक सवारी साधन गन्तव्यमा पठाइएको छ ।

डोजरले काम गर्न केही समय ढिलाइ हुने र सडकको तल्लो भाग भासिएकाले ठूला सवारी साधन सञ्चालनमा अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । लामो समय सडक अवरुद्ध भएपछि पाल्पातर्फ आउने र बुटवल हिँडेका सयौं सवारी साधन अलपत्र परेका थिए ।

बुटवलदेखि नारायणगढ हुँदै काठमाडौं जाने सवारी साधनसमेत सिद्धार्थ राजमार्ग भएर आएकाले सयौंको संख्यामा सवारी साधन अलपत्र परेका थिए । काठमाडौंबाट पश्चिम हिँडेका सवारी साधनसमेत यही सडक भएर हिँडेका छन् ।

यसअघि अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले अवरुद्ध भएको सिद्धार्थ राजमार्गको सेरा र धैरेनीतर्फबाट आएका सवारी साधनसमेत पहिरोमा फसेका छन् । राजमार्गमा पहिरोका कारण बिहानैदेखि यात्रु र सवारी साधन सडकमै थिए ।

राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका १, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खसेर पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त स्थानमा भने लेदो पन्छाएर एकतर्फी सडक खुलाइए पनि अर्को पहिरोका कारण रोकिनु परेको थियो ।