July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको माधवनारायणमा सयौं ज्येष्ठ नागरिकलाई सम्मान

रौतहट फागुण ४ गते
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले मंगलवार सयौं ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
नगर प्रमुख यादवले मंगलवार एक कार्यक्रमको आयोजना गरी माधवनारायण नगरपालिका ६ माधोपुरका ७५ वर्षभन्दा माथी उमेरका १ सय ८० जना ज्येष्ठ नागरिकलाई कम्बल ओढाएर सम्मान गरेका हुन ।
नगर भित्रका सबै वडाका ७५ वर्ष भन्दा बढी वृद्ध वृद्धालाई सम्मान गर्ने अभियान नै सञ्चालन गरी ज्येष्ठ नागरिकहरुलाई कम्बल ओढाएर सम्मान गरिरहेको नगर प्रमुख यादवले बताए ।
उनले अघि भने वृद्ध अर्थात् ज्येष्ठ नागरिकले आफ्नो जीवनको महत्वपूर्ण समय परिवार, समाज तथा राष्ट्रप्रति पूर्ण रूपमा समर्पित गरेको हुन्छन्, उनीहरूकै योगदान एवं प्रतिबद्धताकै फलस्वरूप परिवार, समाज तथा राष्ट्रको गरिमा अभिवृद्धि भइरहेको हुन्छ, अहिले ज्येष्ठ नागरिक भएकाहरूको पूरै जीवन जिम्मेवारपूर्ण तवरले अगाडि नबढेको भए समाज र सभ्यता निर्माण हुँदैन थियो ।
तसर्थ ज्येष्ठ नागरिकप्रतिको श्रद्धा, सम्मान तथा आदरपूर्ण व्यवहार आजको आवश्यकता हो र भोलिका लागि मार्ग निर्देशन पनि रहेकोले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत अहिले सम्म वडा नं १ देखी ६ सम्मका गरी ५ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिसकेको र अझै सम्मान गर्ने क्रम जारी नै रहेको उनले बताए ।
माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरमा आयोजित सम्मान कार्यक्रममा वडा अध्यक्ष राजिव कुमार यादव, जनता समाजवादी पार्टीका नेता हरिनारायण यादव, वडा सदस्य विरविपुल साह, अरुण यादव लगाएतको सहभागिता रहेको थियो ।