July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा कार्यरत कर्मचारीहरुले विरोध प्रदर्शन

 

रौतहट, २१ माघ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा कार्यरत कर्मचारीहरुले वितरण केन्द्र प्रमुखको कार्यकक्षमा शुक्रवार विहान १० बजे ताला लगाएर १ घण्टा सम्म विरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्मचारीहरु आज विहान प्रमुखको कार्यकक्ष र प्रशासन कोठामा ताला लगाई हातमा कालो पटी बाँधेर एक घण्टा सम्म पेनडाउन गरेको हो । नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघको आयोजनामा आज देखि सुरु गरिएको आन्दोलन सोमवार देखि अनिश्चितकालिन हुने चेतावनी दिएका छन् ।
विद्युत कर्मचारी माथि साँघातिक आक्रमण गर्ने दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा कार्यरत कर्मचारीहरु हातमा कालोपटी बाँधेर विरोध प्रदर्शन गर्दैै ।
माघ १८ गते वितरण केन्द्र प्रमुखको आदेशमा पाँच जना कर्मचारीहरु रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा ब्लैक लिष्ट, विद्युत हुकिंग गर्ने र विजुलीको विल नतिर्नेहरुको लाइन काट्न पुग्दा हास फारम संचालक लालबाबु साहले साँघितक रुपमा आक्रमण गर्दा पाँच जना कर्मचारी घाईते भएका थिए । पाँच जना मध्ये तिन जनाको हात भाँचिएको र दुई जनालाई सामान्य चोटपटक लागेको थियो ।

उक्त घटनामा संलग्न रहेका दोषिहरुलाई समातेर ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने माग राख्दै विद्युत कर्मचारीहरु आन्दोलित भएका छन् । प्रहरीले एक जनालाई समातेर अभद्र व्यवहारमा मुद्दा चलाएको कार्य प्रति तिव्र रुपमा असन्तोष व्यक्त गर्दै विद्युत कर्मचारीहरु राजनीतिक दलको दवावमा प्रहरीद्धारा दोषिलाई उम्काउने प्रयास भईरहदा बाध्य भएर चरणबद्ध संघर्षको कार्यक्रमलाई सार्वजनिक गर्नुपरेको नेपाल विद्युत कर्मचारी युनियन एकाई अध्यक्ष संदीपकुमार सिंहले बताए ।

संघर्षको क्रममा आईतवार २ घण्टा पेन डाउन गरी कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दि गर्ने तथा माघ २४ सोमवार देखि इमरजेन्सी सेवा बाहेक कार्यालय प्रमुख, प्रशासन शाखामा ताला लगाई काम काजहरु अनिश्चितकाल सम्म ठप्प पार्ने समेत उनले चेतावनी दिए ।

यता प्रहरीले हास फारम संचालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको तथा अन्य दोषिहरुलाई समात्ने प्रयास भईरहेको रौतहट प्रहरीका प्रमुख एसपी विनोद घिमिरेले बताए ।स्रोत तराई टप