September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मधेस प्रदेशसभाबाट बालिका संरक्षण विधेयक पारित

असार ८, २०८१ 

मधेस प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशका रूपमा मधेस प्रदेशको नाम आएको उल्लेख गर्नुभयो । उहाँले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानुन पारित भएको बताउनुभयो ।

उहाँले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु गर्न रु १२ करोड थप बजेट व्यवस्था गरेको जानकारी दिनुभयो । बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नभुयो, “सकारात्मक विभेदमार्फत छोरीहरुलाई सशक्त बनाउन आवश्यक छ ।”

विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राख्नुभएको थियो । उहाँहरुले उठाउनुभएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औँल्याउनुभयो । वर्णन संवाददाता