September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

काठमाडौं महानगरविरूद्ध ४ दिनदेखि किन सडकमा छन् कवाड व्यवसायी?

असार ५, २०८१

काठमाडौं महानगरपालिकालाई ‘गरिखान देऊ’ भन्दै कवाड व्यवसायीले प्रदर्शन गरेको आज चौथो दिन।

कवाडी संकलन गरेर जम्मा पार्ने गोदाममा बिनासूचना डोजर चलाइएको भन्दै उनीहरू आइतबारदेखि सडकमा छन्। यसअघि पनि उनीहरूले विभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन गरेका थिए।

व्यवस्थापन गर्ने नीति नलिई काठमाडौं महानगरले कवाड व्यवसायीलाई विस्थापन गराउने कदम चालेकोमा उनीहरू आक्रोशित छन्।

बुधबार पनि कवाड व्यवसायीहरू बिहान ११ बजे महानगरको कदमविरूद्ध शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पुगेका थिए।

बुढो साइकलमा केही बोरा बोकेर ‘खाली सिसी, पुराना कागज’ भन्दै कवाडी संकलक एकाबिहानै काठमाडौंमा गल्लीगल्लीका घरघरमा पुग्छन्। उनीहरू संघीय राजधानी मात्रै सीमित छैनन्, दूरदराजका गाउँमा समेत पुग्छन्।

मानिसहरू पनि कहिले कवाड आउँछ र फोहोर बेचूँ भन्दै उनीहरूको पर्खाइमा बस्छन्।  त्यसरी पर्खाइमा बस्ने रेनु महर्जन पनि हुन्।

हामी माइतीघर मण्डलमा कवाड व्यवसायीसँग कुराकानी गर्न पुग्दा रेनु भीडमा भन्दै थिइन्- महानगरले कवाडीलाई व्यवस्थापन गर्नेतिर नलागेर किन विस्थापित गर्न खोजेको होला?

उनको कुरा सुनेपछि हामीले उनलाई तपाईंलाई किन त्यस्तो लागेको भनेर जिज्ञासा राख्यौं।

उनले आफ्नो सानो पसल भएको र पसलबाट कवाडमा बेच्न निस्कने सबै फोहोर बेच्ने गरेको बताइन्।

‘फोहोरसँगै ती सामान पठायो भने त्यही मान्छेलाई मात्र हुन्छ,’ उनले भनिन्, ‘मिल्ने सामान कवाडीमा बेच्छु, नमिल्ने फोहोरमा पठाउँछु।’

यसरी कवाडमा फोहोर बेच्नु उनको एउटै उद्देश्य हो- ती रकमले बालबच्चालाई दुई-चार दिनको खाजा खर्च भए पनि टर्छ!

उनले पसलबाट निस्कने पत्रपत्रिका, कार्टुन, बोतल, अण्डाको क्यारेट लगायत फोहोर बेच्न गरेको बताइन्।

यसरी नै दुई चार पैसा आम्दानी हुन्छ भनेर धेरै जनाले फाल्ने फोहोर पनि कवाडीमा बेच्ने गरेको उनले सुनाइन्।

‘कवाडले गर्दा पुनः प्रयोग गर्न मिल्ने सामानहरू फोहोरमा नजाँदा फोहोर वर्गीकरण गर्न महानगरलाई सहयोग पुगेको छ भनेर किन नबुझेको होला,’ उनले सेतोपाटीसँग भनिन्, ‘यदि कवाड व्यवसायीलाई काठमाडौंबाट साँच्चै विस्थापित गर्ने हो भने मानिसहरू दुई चार पैसाको लोभले जसरी फोहोर स्रोतमै वर्गीकरण गर्थे त्यो गर्न छोड्ने छन्।’

यसबारे हामीले प्रदर्शनमा आएका कवाड संकलक र व्यवसायीहरूसँग पनि कुराकानी गरेका छौं।

महानगरले बिना कुनै आधार अनधिकृत भन्दै कवाड भण्डारणका लागि बनाएका संरचानामाथि डोजर चलाएपछि आफूहरू आन्दोलनमा उत्रिएको स्क्राप हकहित फाउन्डेसनका अध्यक्ष समेत रहेका कवाड व्यवसायी सञ्जय साहले बताए।

उनका अनुसार महानगरले कवाड व्यवसायीलाई व्यवस्थापनभन्दा पनि विस्थापित गर्न अग्रसर भएको छ।

‘स्थानीय सरकारले आम नागरिकको रोजीरोटी खोसेर हुन्छ,’ उनले मेयर बालेनप्रति इंकित गर्दै प्रश्न गरे, ‘अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने स्थानीय सरकारले अनधिकृत भन्दै हटाउने कि व्यवस्थापन गर्नतिर लाग्ने?’

९ महिनाअघि महानगरले रिङरोडभित्र कवाड सञ्चालन गर्न नपाउने निर्णय गर्दै हटाउन माइकिङ गरेको थियो। माइकिङ गर्दा कतिपयमा ३५ दिने सूचना दिइएको थियो भने कतिपय ठाउँमा बिना जानकारी डोजर चलाएको उनले बताए।

उनका अनुसार महानगरले विभिन्न चरणमा डोजर चलाउन थालेपछि ५० वटा कवाड व्यवसायीले अदालतबाट स्टेअर्डर लिएका छन्।

यसो त रिङरोडभित्र मात्रै आठ सयको संख्यामा कवाडी सञ्चालनमा छन्। त्यसमा २४ सयले रोजगारी पाइरहेको उनको दाबी छ।

जसमा घरघरमा साइकल डोर्‍याउँदै, बोरा बोकेर पुग्ने संकलक र उनीहरूले संकलन गरेर ल्याएका सामग्री खरिद गरेर जम्मा पार्ने र रिसाइकल (पुनः प्रयोग गर्न मिल्ने सामान बनाउन) लागि बाहिर पठाउने व्यवसायीहरू छन्।

त्यसमा धेरै जनाको परिवार उनीहरूमै आश्रित भएको उनी बताउँछन्। यदि महानगरले कवाड व्यवसाय हटायो भने उनीहरूसँगै परिवारको पनि बाँच्ने र गरिखाने आधार नै खोसिने उनको भनाइ छ।

उनले एक जना कवाडी संकलकले महिनामा जसोतसो १५ देखि २० हजार रुपैयाँसम्म कमाउने बताए।

‘एउटा खाली सिसीमा उहाँहरूले ५० पैसा मुनाफा निकाल्नुहुन्छ। फलाममा प्रतिकिलो ५ रूपैयाँ कमाउनुहुन्छ,’ उनले भने, ‘उहाँहरूले घरघरबाट प्रतिकिलो ३५-३६ रुपैयाँमा फलाम किनेर ल्याउनुहुन्छ। हामी त्यसलाई ४० रुपैयाँमा किन्छौं। यसरी कवाड संकलन गर्दा उहाँहरूले मासिक १० देखि २० हजार रुपैयाँसम्म कमाउनुहुन्छ।’

अर्कोतर्फ महानगरले महानगर र प्यानमा दर्ता भएका व्यवसायीहरूमाथि पनि डोजर चलाएको उनी बताउँछन्।

‘महानगर र प्यानमा दर्ता हुँदा पनि अनधिकृत सञ्चालन गरेको भनेर डोजर आतंक मच्चाउने?,’ उनको प्रश्न छ, ‘अनधिकृत थियौं भने महानगरले हामीबाट कुन आधारमा राजस्व उठायो?’

म्याद सकिएपछि गएको असारदेखि महानगर आफैले व्यवसाय नवीकरण गर्न नमानेको उनी बताउँछन्।

यसो त महानगरले हटाएपछि कतिपय व्यवसायीले रिङरोड बाहिर कवाड सञ्चालन गरे। तर त्यहाँका स्थानीयहरूले काठमाडौंको फोहोर आफ्नोमा ल्याउन पाइँदैन भन्दै विरोध गरेको सञ्जय बताउँछन्।

‘हुन पनि काठमाडौंको फोहोर अरूको ठाउँमा लगेर राखेपछि त विरोध गरिहाल्नु हुन्छ नि!,’ उनले भने, ‘यसको लागि महानगरले मापदण्ड बनाएर व्यवस्थापन गर्नुपर्छ।’

अर्कोतर्फ घरधनी र बहालमा बस्नेहरूले खेर फाल्नुपर्ने सामग्री थोरै मूल्यमा भए पनि बिक्री गर्न पाएको सञ्जय बताउँछन्।

‘एक प्रकारले भन्दा फोहोर व्यवस्थापन पनि भएको छ। एउटा घरबाट ६० प्रतिशतसम्म बिक्रीयोग्य फोहोर निस्कन्छ,’ उनले भने,  ‘कवाडी संकलकहरूले ती फोहोर केन्द्रसम्म ल्याउँछन्। हामी ती सामग्री उनीहरूबाट किनेर भण्डारण गर्छौं। र, बिक्रीका लागि भारत पठाउँछौं।’

‘सफाइका दूत’ बनेर पुग्ने कवाडी संकलकहरूले थोरै आम्दानीमा पनि कठिन श्रम गर्ने गरेको उनले बताए।

‘माघको ठिही, मुसलधारे झरी, चैतको प्रचण्ड गर्मी नभनी उनीहरू घरघर पुग्छन्। त्यहाँ थुप्रिएको फोहोर बोकेर ल्याउँछन्। मोहोरमा परिणत गर्छन्।  उनीहरूलाई विस्थापन गरिनुको कारण बुझेका छैनौं,’ उनले भने, ‘महानगरले चक्रपथभित्र कवाडी संकलन, भण्डारण गर्न पाइँदैन भनिरहेको छ। काठमाडौंभित्रको फोहोरको व्यवस्थापनको पनि त समस्या होला नि!’

ठूलो श्रम क्षेत्र ओगट्ने, काठमाडौंको सफाइसँग पनि जोडिएका मजदुरका समस्या बोकेर महानगर पुग्दा मेयर बालेन शाहसँग कुरा गर्नु पाउनु त कता हो कता आफ्ना कुरासमेत राख्न नपाएको उनको गुनासो छ।

काठमाडौं महानगरपालिकाको कवाडी संकलनमा ठूला पुँजीवालाले आँखा लगाइरहेको उनको दाबी छ।

‘हामीले त काठमाडौं महानगरपालिकाको बढ्दो फोहोर व्यवस्थापनमा सघाइरहेका छौं। तर उहाँहरूले हामीमाथि नै रिस साँध्नुको कारण के हो? यहाँ ठूलो आर्थिक चलखेल हुँदैछ भन्ने सुनेका छौं। गरिबको गरिखाने माध्यममा दख्खल पुर्‍याएर त्यस्तो चलखेल नहोस्,’ उनले भने, ‘महानगरले छलफल गरेर व्यवस्थापन गर्न बनाउने मापदण्ड मान्न हामी तयार छौं तर महानगरको व्यवस्थापन गर्नेतिर ध्यान केन्द्रित हुन जरूरी छ।’

त्यसका लागि तीन पटक महानगरपालिकालाई ज्ञापन पत्र समेत बुझाइसकेको उनी बताउँछन्। व्यवसायी साहले कवाड व्यवसायीलाई भारतीय भन्दै हेलाहाँसो गरिएकोमा उनले चित्त दुखाइ छ।

‘काठमाडौंले मानसिकता बदल्न जरूरी छ। कवाड क्षेत्र ठूलो श्रम बजार हो। फोहोरलाई मोहोर बनाउने ठाउँ पनि हो। यहाँ आबद्ध सबै भारतीय हुन् भनेर हेर्नुभएन। अहिले त्यो पनि दृष्टिकोण देखियो,’ उनले भने।

उनले नेपालका लागि भारत र भारतका लागि नेपाल खुला श्रम बजार भएको भन्दै यसमा भेदभाव नराख्न पनि आग्रह गरे।

महानगरले सुरूमा वडा नम्बर-७ बाट कवाडी हटाउन सुरू गरेको थियो। लगत्तै वडा नम्बर १८ मा हटायो र कवाडी हटाउने अभियानलाई तीव्रता दिँदै ३२ वटै वडाबाट कवाडी व्यवसायीलाई विस्थापित गर्न सुरू गरेको थियो।

रौतहटका ४२ वर्षीय मोसफिद दास पनि घर-घरमा कवाड संकलन गर्न जान्छन्। उनले काठमाडौं आएर कवाड संकलन गर्न थालेको २२ वर्ष भयो। मोसफिद बुद्धनगरको कवाडीमा काम गर्छन्।

‘यदि कवाडी नै रहेन भने हाम्रो रोटी पनि जान्छ। घर-परिवारलाई कसरी पैसा पठाउनु,’ उनले दुःख पोख्दै भने।

मोसफिदले घर-घरमा गएर मानिसहरूसँग कवाड मात्र किन्दैनन्, फोहोर थुप्रिएको ठाउँमा आफूले काम लाग्ने सामान देखिहाल्यो भने उठाउँछन् अनि कवाडमा बेच्छन्।

सर्लाहीका ५० वर्षीय सुरेश साहले पानीपोखरीमा कवाड संकलन सञ्चालन गरेका छन्। लाखौं लगानी गरेर कवाड भण्डार गर्न बनाएको ठाउँमा कुन दिन डोजर चलाउँला भनेर उनी त्रसित छन्।

‘मैले कवाडी क्षेत्रमै काम गरेको ३२ वर्ष भइसक्यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीसँग प्यान दर्ता छ। वडामा कर तिर्छौं। तर हामीले गर्दा असुरक्षा भयो भनेर हटाएको भन्नुहुन्छ। कसरी असुरक्षा भयो। सुरक्षा दिन प्रहरी छैन?’

महानगरपालिकाका सह- प्रवक्ता दीपक अधिकारीले भने कवाड व्यवसायलाई के गर्ने भनेर छलफलकै क्रममा रहेको बताउँछन्।

‘अहिले हामी छलफलकै क्रममा छौं,’ उनले भने, ‘मेयर बाज्रिलबाट फर्किएपछि के गर्ने टुंगो हुन्छ।  सेतोपाटी