रामप्रवेश बैठा रौतहट,१७ गते फागुन ।
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २७ गतेदेखि सुरु हुने भएको छ । आज मौलापुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानिय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको गोष्ठी कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
मौलापुर स्थित नगरपालिकाको सभाकक्षमा ९ वटै वडाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु,सञ्चारकर्मीहरु बिच खोप सञ्चालन सम्बन्धि जानकारी गराइएको थियो ।
मौलापुरका स्वास्थ्य संयोजक अच्छेलाल साहका अनुसार तेस्रो चरण अन्तर्गत फागुन २७ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत मौलापुरमा १७ हजार १ सय ६३ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । सो अभियान नगरभरि चैत १ गते सम्म चल्ने छ ।
उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी २१ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न ३२ जना कर्मचारी परिचालन गरिने उनले बताए ।
बिहिबार भएको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप फोकल पर्सन अनिल कुमार कर्णले अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे । सो अवसरमा सबै वडाका वडाध्यक्ष, प्रधानाध्यापकहरु, सबै शाखाका प्रमुख, सञ्चारकर्मी लगायतकाको पनि सहभागीता रहेको थियो ।
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा