वीरगञ्ज – देशभरिमा हालसम्म रहेका ७७ जिल्लामध्ये ७२ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। पाँच वटा जिल्लालाई हालसम्म पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी छ।
यी पाँच वटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी रहँदा पूरै देश पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छैन।
मधेस प्रदेशका ५ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी छ। यस प्रदेशका पर्सा, रौतहट, महोतरी र धनुषा गरी चार वटा जिल्ला अहिले पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेका छैनन्।
यसबाहेक नुवाकोट जिल्ला पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छ। मधेसकै सबैभन्दा बढी जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी रहेकाले यी जिल्लामा अहिले धमाधम काम भइरहेको सम्बन्धित स्वास्थ्य कार्यालयले जानकारी दिएका छन्।
वैशाख–जेठसम्म पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले बताए।
पर्साका १४ पालिकामध्ये १० पालिका पहिले नै पूर्ण खोपयुक्त घोषणा भएको तथा बाँकी चार पालिकालाई पनि भर्खरै पूर्ण खोपयुक्त घोषणा गरिएको बताए।
मधेस प्रदेशमा रहेका जिल्लामध्ये सबैभन्दा बढी रौतहटका पालिका पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छैन। त्यहाँ रहेका १८ मध्ये ९ वटा स्थानीय तहलाई अहिलेसम्म पनि पूर्ण खोपयुक्त पालिका घोषणा गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख बिनितकुमार साहले जानकारी दिए। मधेसभरि नै सबैभन्दा बढी रौतहटमा पालिका पूर्ण खोपयुक्त घोषणा नभएकाले आफ्नो नगरपालिकाका वडामा ब्यापक रुपमा काम भइरहेको मौलापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अच्छेलाल साहको भनाइ छ।
जेठसम्म आफ्नो पालिका जसरी पनि पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्यसाथ काम गरिरहेको उनले बताए।
पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शतप्रतिशत खोप लगाएको हुनुपर्छ। सरकारले १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क दिन्छ। पोलियो खोप, हेपाटाइटिस बी, धनुष्टंकार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया तथा दादुराररुबेलाविरुद्धको खोपलगायत छन्। देश सञ्चार
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।