July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउको बिरोधमा राैतहटमा प्रदर्शन

राैतहट,१६ गते पुस ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त राउत पक्राउको विरोधमा सोमवार गौरमा प्रदर्शन गरिएको छ । राष्ट्रिय धोती दिवस मनाउने क्रममा राजधानी काठमाडौंको माइती घर बाट नेपाल प्रहरी द्वारा पक्राउ गरिएको नेता कार्यकर्ताको रिहाईको माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य विकास कुमार यादवले जानकारी गराएका हुन् ।
प्रर्दशनको क्रममा उनीहरुले पार्टीका नेता कार्यकर्तालाई छिटोभन्दा छिटो रिहा गर,मधेसी माथीको दमन बन्द हो,नश्लिय सरकार मुर्दावाद,धोती हाम्रो पोषाक हो सम्मान हो,राष्ट्रिय धोती दिवस जिन्दावाद,जनमत पार्टी जिन्दावाद लगायतका नारा लगाएका थिए । प्रर्दशन पछि उनीहरुले टायर बालेर विरोध समेत जनाएका थिए ।
राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउत सहित जनमतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा प्रर्दशन गरेको भन्दै पक्राउ गरिएको प्रहरीले बताएको थियो ।
विद्यार्थी जनमत सङ्घको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रममा अध्यक्ष राउत सहितका नेता कार्यकर्ता त्यहाँ पुुगेका थिए । प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाइरहेका थिए । धोती हाम्रो शान हो लगायतका नारा समेत लगाएका थिए ।
यसैबिच प्रहरीले पक्राउ गरेको विरोधमा ठाउँ ठाउँमा प्रर्दशन हुन थालेपछि पक्राउ परेको अध्यक्ष राउतसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् । राउतसहित सो पार्टीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ अध्यक्ष राउत सहित कार्यकर्ता राखिएको ठाउँ नेपाल प्रहरी क्लबमा आफै पुुगेर सबैलाई रिहा गर्न आदेश दिनुभएको खबर छ । आदेश पछि अध्यक्ष राउत सहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।