July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

त्रिवि भद्रगोल भयो, सुधारका लागि श्वेतपत्र जारी गरियोस् : पौडेल

 

काठमाडौँ —

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेदलले त्रिभुवन विश्वविद्यालय सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई श्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद पौडेलले त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क पनि फिर्ता लिन माग गरेका छन् ।

त्रिवि मुलुकको जेठो, ठूलो र सबैभन्दा धेरै विद्यार्थी पढ्ने शैक्षिक संस्था भए पनि व्यवस्थित हुन नसकेको पौडेलको भनाइ थियो । ‘त्रिवि सबैभन्दा ठूलो र धेरै विद्यार्थी पढ्ने विश्वविद्यालय हो । त्यो विश्वविद्यालय अहिले असाध्यै भद्रगोल ढंगबाट चलिरहेको छ । त्यसलाई सुधार गर्नका निम्ति शिक्षा मन्त्रालयले श्वेतपत्र जारी गरोस्,’ उनले भने ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिन पनि उनले माग गरेका छन् । ‘त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ । त्यहाँ झन्डै दुई सय प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तर कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आइरहेको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि भइरहेको छ, त्यो अस्वाभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीको माग पूरा गरियोस्,’ उनले भने ।

संस्थानको २५ साउनमा बसेको बैठकले बीई र बीआर्कतर्फको शुल्कवृद्धि गर्ने निर्णय गरेको थियो । उक्त शुल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूले आन्दोलन गरिरहेका छन् । नेविसंघले गुणस्तरीय इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै शुल्कवृद्धि नगर्न आग्रह गरेको हो ।