असार २०, २०८०
नेपाल राहत शिक्षक केन्द्रीय समितिले काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने भएको छ । माग सम्बोधनका लागि तीनदिने अल्टिमेटम दिँदै समितिले अन्यथा काठमाडौंमा राप र ताप विस्फोट हुनेगरी आन्दोलन गर्ने चेतावनी दिएको हो ।
समितिले आज सातै प्रदेशका अध्यक्ष, ७७ जिल्ला अध्यक्ष र ७५३ वटै पालिका अध्यक्षलाई सर्कुलर गर्दै आन्दोलनका निम्ति तयारी अवस्थामा रहन निर्देशन दिएको छ । ‘४० हजार राहत शिक्षकको आन्दोलनको राप र ताप विस्फोट गर्न देशभरका सबै समितिहरु प्रदेश, जिल्ला र पालिकास्तरमा तत्काल बैठक बसि सबै हिसाबले तयार रहन र केन्द्रीय समितिले संकेत गर्नासाथ काठमाडौं ओर्लिन देशभरका सबै राहत शिक्षकहरुमा आह्वान गरिन्छ’, सर्कुलरमा उल्लेख छ ।
सरकारले मन्त्रिपरिषद्मा लैजान लागेको शिक्षासम्बन्धी मस्यौदा शिक्षकहरुले यसअघि पटकपटक गरेको आन्दोलनको मर्मविपरीत भएको समितिले जनाएको छ । शिक्षा मन्त्रालयले एकलौटी ढंगले पञ्चायती शैलीमा मस्यौदा ल्याएको आरोप लगाउँदै समितिले उक्त मस्यौदाप्रति गम्भीर आपत्ति र असहमति व्यक्त गरेको छ ।
उक्त मस्यौदाले हजारौंको संख्यामा रहेको राहत शिक्षक पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आउने उल्लेख गर्दै समितिले भनेको छ,‘शिक्षा मन्त्रालय र हाम्रो अभिभावकीय संस्था नेपाल शिक्षक महासंघलाई तीन दिनभित्र ठोस निकास दिन अल्टिमेटम दिइएको छ । अन्यथा, हामी सशक्त रुपमा मैदानमा उत्रिन बाध्य हुनेसमेत जानकारी गराउन चाहन्छौं ।’
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे