July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रचण्डले प्रधानमन्त्री बनाउन भारत जानुपर्छ भन्नुभएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

 

काठमाडौं :

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुन भारत जानुपर्छ नभनेको बताएका छन्।चितवनमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले यस्तो नभनेको बताएका हुन्।

‘प्रधानमन्त्रीसँग मेरो यस विषयमा कुरा हुन पाएको छैन, तर बाहिर आएको न्यूजमै हेर्दा पनि प्रधानमन्त्री हुन भारत जानुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको देखिँदैन,’ उनले भने, ‘कुनै व्यक्तिले आफ्नो सोचअनुसार भारतलाई पनि मिलाइदिनपर्छ कि क्या हो भनेर जोड्नुहुन्छ भने उहाँको कुरा हो।’

प्रधानमन्त्री दाहाल संसदले निर्वाचित गरेको तथा जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका लागि संघर्ष गर्ने नेता भएकाले नेपालको सरकार बनाउन विदेशको मुख ताक्ने र त्यसतर्फ धाउने कुरा हुनैनसक्ने दाबी गरे।

‘बाहिर आएको समाचार पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नुभएको छैन,’ उनले थपे, ‘कुनै व्यक्तिले श्वेच्छिक शुभेच्छाका कारण जहाँ–जहाँ दौडेर भए पनि म सहयोग गर्छु भनेको छ भने त्यो उहाँको कुरा हो। तर नेपालको प्रधानमन्त्री अन्त कहिँबाट बन्दैन।’

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले पटक–पटक दिल्ली धाएको बताएका थिए।