काठमाडौं
एकबेला थियो- नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्वमा करिब दुईतिहाइ बहुमतसहितको संघीय सरकार थियो । प्रधानमन्त्री थिए, तत्कालीन नेकपा र अहिलेको एमालेका अध्यक्ष केपी शर्मा ओली । राष्ट्रपति थिइन्, विद्यादेवी भण्डारी । सबैजसो प्रदेशमा एमाले नेतृत्वकै सरकार, एमालेकै प्रदेश प्रमुख । करिब दुईतिहाइ स्थानीय सरकारमा पनि एमालेकै नेतृत्व । यस्तो लाग्थ्यो– जताततै एमाले नै एमाले !
अनि शक्ति र सत्ताको उन्मादले एमाले क्रमशः मात्तिन थाल्यो । अझ भनौं, अध्यक्ष ओलीमा अहंकार र आडम्बरको सीमा नाघ्यो । उनले पाएको जनमत पचाउन सकेनन् । र संसद विघटन जस्तो ‘निर्मम निरंकुश’ कदम चाले । त्यसपछि ओलीसँगै एमालेको ओरालो यात्रा सुरु भयो ।
नेकपा एकता विघटन भयो । एमाले र माओवादी छुट्टिए । त्यहीं बेला एमाले विभाजित भएर एकीकृत समाजवादी नामको नयाँ दल पनि बन्यो । परिणामतः एमालेको संघीय सरकार ढल्यो । त्यसपछि क्रमशः प्रदेश सरकारहरु ढले । ढाल्न नमिल्ने भएकाले स्थानीय सरकार जोगिए।
त्यहीं बीचमा फेरि तीन तहकै चुनाव भयो । कांग्रेस–माओवादी गठबन्धनका बाबजुद पनि एमालेले राम्रै सिट जित्यो । तर, त्यो सिट सरकार बनाउनका लागि पर्याप्त थिएन । चुनावी परिणामपछि पनि कांग्रेस र माओवादी केही समय सँगसँगै भए । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नबनाउने बताएपछि माओवादी अध्यक्ष प्रचण्ड ओलीसँग नजिक हुन पुगे । त्यहीं मौकामा एमालेले सभामुख पायो । चारवटा प्रदेश सरकारको नेतृत्व पायो ।
पछि देउवासँग कुरा मिलेपछि प्रचण्डले ओलीको साथ छाडे । त्यसपछि भटाभट एमाले नेतृत्वका प्रदेश सरकार ढल्न थाले ।
वैशाख ११ गते लुम्बिनीको लीला गिरी नेतृत्वको एमाले सरकार ढल्यो । त्यहाँ अहिले गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन् । यस्तै, गण्डकीमा पनि वैशाख १० गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यहाँ अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।
माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा पनि एमालेको सरकार ढल्यो । कमलबहादुर शाह सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भए । उनी पनि कांग्रेसका हुन् । एमालेका लागि बचेको एउटा थियो कोशी प्रदेश । त्यहाँको हिक्मत कार्की नेतृत्व सरकार पनि शुक्रबार ढलेको छ ।
संघदेखि प्रदेशसम्म गुमाउँदै-गुमाउँदै गएको एमाले अब स्थानीय सरकारको नेतृत्वमा मात्रै सीमित भएको छ । यसरी एमाले खिइँदै जानुको कारणबारे धेरैले धेरैखाले विश्लेषण गर्ने गरेका छन् । अध्यक्ष ओलीको दम्भ र अहंकार नै यसको मुख्य कारण रहेको कतिपय बताउँछन् ।
तर, एमालेका नेताहरु भने यसमा माओवादी र विशेष गरी प्रचण्डलाई दोष दिन्छन् । प्रचण्डले धोका दिएकाले यस्तो अवस्था आएको उनीहरुको तर्क छ । तर, एमालेका नेता आफ्ना कमजोरी र नेतृत्वबारे समीक्षा गर्न अहिले पनि तयार छैनन् ।
अब माओवादीसँग नमिलेसम्म एमालेका गुमेका सरकार फिर्ता नहुने निश्चित देखिएको छ । तर, त्यस्तो सम्भावना भने तत्कालका लागि देखिएको छैन । अहिलेको सत्ता गठबन्धन कायमै रहे पाँचै वर्ष एमाले सरकारबाट बाहिरै बस्नुपर्नेछ ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै