July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

धनगढीको मुख्य सडक शिलान्यास, संरचना भत्काउने ४२८ घरधनी सम्मानित

 

१२ असार, धनगढी।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजारको मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ। मंगलबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले पुलदेखि क्याम्पस चोकसम्मको सडक निर्माणको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ किलोमिटर ३ सय मिटर सडक निर्माणका लागि गत २७ वैशाखमा ५१ करोड ६९ लाखमा ठेक्का लगाएको थियो। उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेशको पूर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो।

धनगढी उपमहानगरपालिकाले मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना स्वस्र्फुत रुपमा हटाएर सहयोग गरेको भन्दै ४२८ जना घर धनीलाई सम्मान गरेको छ।

नगर प्रमुख गोपाल हमालले मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काएर उपमहानगरपालिकालाई सहयोग गर्ने घरधनीलाई धन्यवाद दिदै सम्मान गरे। उनले विकास निर्माणका कार्यमा साथ दिने स्थानीयलाई सम्मान गर्न पाउँदा खुशी लागेको समेत बताए।

धनगढी उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक फराकिलो बनाउन गत कात्तिकमा सडकको क्षेत्राधिकार भित्र पर्ने सरकारी तथा निजी भौतिक संरचनामाथि डोजर चलाएको थियो।

उपमहानगरपलिकाले संरचनामाथि डोजर चलाउन थालेपछि अधिकांश घरधनीले आफैले संरचना भत्काएका थिए।

उपमहागरपालिकाले साविक कायम रहेको सडकको केन्द्र भागदेखि दायाँबायाँ १५-१५ मिटर विस्तार गर्ने योजना अनुसार संरचना भत्काएपछि उक्त सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको सुनिश्चितता गर्दै ठेक्का लगाएको थियो।