काठमाडौं–
नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानको ६६ वार्षिकोत्सव उपलक्ष्यमा शुक्रबार आयोजित अन्तरक्रियामा सहभागिहरुले नेपाली कवीहरुमा समावेशी चिन्तनको विकास हुँदै गएको बताएका छन् ।
लेखक तथा समालोचक भोगीराज चाम्लिङले प्रतिष्ठानले पूर्ण भाषिक समानताको व्यवस्थालाई कार्यान्वयन गर्न थालेको बताए । संवैधानिक परिभाषामा सुनिश्चित गरेको पूर्ण भाषिक समानताको व्यवस्थालाई प्रज्ञा–प्रतिष्ठानमार्फत कार्यान्वयन गर्न राष्ट्रिय कविता महोत्सव–२०८०’ का रुपमा सुरुवात भएको उनको भनाई छ ।
‘अब संवैधानिक परिभाषामा नेपालका सबै भाषाहरु समान हुन् र यो परिभाषाले पूर्ण भाषिक समानताको व्यवस्था सुनिश्चित गरेको छ। अब यो व्यवस्थालाई प्रज्ञा–प्रतिष्ठानलगायतमार्फत् कार्यान्वयन गर्नुपर्ने छ, जुन राष्ट्रिय कविता महोत्सव–२०८०’ का रुपमा सुरुवात भएको छ,’ चाम्लिङको भनाइ छ ।
चाम्लिङले नेपाललाई भावनात्मक रुपमा नजोडेसम्म नेपाली राष्ट्रियता बलियो नहुने भन्दै यस प्रकारको महोत्सवले नेपाललाई भावनात्मक रुपमा जोड्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
‘यसप्रकारको महोत्सवले नेपाललाई भावनात्मक रुपमा जोड्न मद्दत गर्नेछ । भावनात्मक एकतालाई यसरी नै पूरा गर्दै जाने हो । गाली मात्रै गरेर अथवा ताली मात्रै बजाएर भावनात्मक एकता पूरा हुँदैन । नेपाललाई भावनात्मक रुपमा नजोडेसम्म नेपाली राष्ट्रियता बलियो बन्न सक्दैन,’ उनले भने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यसपटक (२०८०) देखि कविता महोत्सवलाई प्रतियोगितात्मक परम्पराको सट्टा समावेशी सहभागितामूलक बनाएको छ ।
कविता नेपालका सबै भाषा÷मातृभाषामा लेखेर सहभागिता जनाउन सकिने प्रतिष्ठानले जानकारी दिएको छ । कविता महोत्सवलाई प्रतियोगिताको सट्टा समावेशी सहभागितामूलक बनाउने र सबै भाषा÷मातृभाषालाई सँगै सहभागी गराउने यी दुई व्यवस्थाले लगभग ६ दशकमा यसपालिको कविता महोत्सव विशेष बन्न पुगेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले ५८ वर्षअघि २०२२ सालदेखि राष्ट्रिय कविता महोत्सव गर्दै आइरहेको छ ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै