राम प्रबेश बैठा ,माघ २१ गते
मधानी महोत्सव विशेष समारोह २०७९ आयोजनाको सन्दर्भमा रौतहटको मौलापुर नगरपालिकाको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आज पुरातात्तिवक महादेव मन्दिरको प्रांगणमा पत्रकार सम्मेलन आयोजन गरि मधानी महोत्सव सम्बन्धि जानकारी गराईएको हो ।
शनिबार मौलापुर नगर कार्यपालिकाको कार्यालय पतौराको आयोजनामा पत्रकारहरू सँग भेटघाट कार्यक्रम गरिएको हो । भोजपुरी सुपरस्टार पवन सिंह रौतहटस्थित मौलापुरमा आयोजना हुन लागेकोे मधानी महायज्ञमा सहभागी हुने भएका छन् । यही फागुन ५ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको उदघाटन समारोहमा उपराष्ट्रपती सहभागी हुन लागेका हुन् ।
रौतहट लगायत तराई क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ ।
यस वर्ष शिवरात्रीको विशेष अवसरमा आयोजना हुने मधानी महायज्ञको उदघाटन उपराष्ट्रपती नन्नदबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ ।
महायज्ञमा नेपालका विशिष्ठ श्रेणीका राजनीतिक व्यक्तित्व सहभागी हुनेदेखि नेपाली तथा भारतीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रह्ने आयोजकले जनाएको छ । महायज्ञमा भारतीय भोजपुरी सुपरस्टार पवन सिंह सँगै काजल राघवानी ,इन्दु सोनाली सँगै नेपाली तथा भारतीय कलाकार सहभागी हुने बताइएको छ ।
फागुन ५ गते उपराष्ट्रपतीले उदघाटन गरेपछि नेपाली सुपर स्टार भुवन केसी,भारतीय सुप्रसिद्ध गायिका इन्दु सोनालीको टिम द्धारा सांस्कृतिक प्रस्तुती रहने छ । त्यस्तै फागुन ६ गते भोजपुरी सुपर स्टार पवन सिंह,काजल राघवानी सहितका चर्चित कलाकारहरुको उस्थितीमा रह्ने आयोजक मौलापुर नगरपालिकाले जनाएको हो ।
फागुन ७ गते देवा थापा लगायत चर्चित पहलमानहरुद्धारा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सहित समापन हुने बताइएको हो । साथै फागुन ५ गते देखि प्रत्येक रात शिव मण्डलीद्धारा शिवलिला प्रर्दशन गरिने बताइएको हो ।
झन्डै २ हजार वर्षभन्दा पुरानो पुरातात्त्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको थियो । लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्त्व विभागद्वारा उक्त मन्दिरको उत्खनन् गर्दा सुरुमा महादेव मन्दिर १३ औं सताब्दी भन्दा पहिलेको रहेको ठहर गरिएको थियो । पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसँग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको थियो ।
मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई ब्यवस्थित गरी महाशिवरात्रीको अवसरमा पछिल्लो चार वर्षदेखि मधानी महायज्ञ भब्यताका साथ आयोजना हुँदै आएको छ । मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने दोस्रोपटक तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी थिए ।
महायज्ञको अवसरमा मौलापुरमा पुरातातिवक महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन् । कतिपय स्थानीयवासीले पूर्ण निष्ठाका साथ भारतबाट गंगा जल ल्याएर उक्त मन्दिरमा चढाउने गरेका छन् । मधानी महायज्ञको अवसरमा मौलापुर पतौरा स्थित लाग्ने सप्ताहब्यापी मेलामा हुने गरेको धार्मिक तथा सांस्कृतिक कार्यक्रममा लाखौँ मानिसको सहभागिता हुनेगर्दछ ।
पत्रकार भेटघाट कार्यक्रममा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव,नि.प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह,वडा नम्बर १ का वडा अध्यक्ष जयनाथ कुशवाहा,वडा नम्बर २ का वडा अध्यक्ष श्रीभगवान पटेल,वडा नम्बर ३ का वडा अध्यक्ष महेश महतो कोइरी,वडा नम्बर ७ का वडा अध्यक्ष रामपुकार साह,वडा नम्बर ८ का वडा अध्यक्ष शिवपर्सन यादव,वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकिशोर साह,शिक्षा संयोजक राजेन्द्र साह सहित जनप्रतिनिधि, स्थानीय भद्रभलादमीहरूको सहभागीता रहेको थियो ।
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा