काठमाडौँ ।
नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले संसदीय राजनीतिमा संघदेखि प्रदेशसम्म ‘विचित्र’ चरित्र देखाएको छ । संघ र सबै प्रदेशमा राजकीय पद विमुख भएको उक्त मोर्चाले सत्ता गठबन्धनमा अविश्वास पैदा गर्न विचित्रको चरित्र प्रदर्शन गरेका देखिएको हो ।
संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेस नेतृत्वको मोर्चाले सभामुख र उपसभामुखमा सत्ता गठबन्धनसँग दोहोरो नीति लिएको छ ।
यसअघि सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा चुनावी प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्क कांग्रेसले गरेको थियो । सोही आधारमा त्यतिबेला उम्मेदवार नउठाएको कांग्रेसले अहिले भने प्रतिस्पर्धा रोज्यो ।
विपक्षी मोर्चा बनाएर कांग्रेसले सत्ता गठबन्धनका सभामुखका उम्मेदवारसँग प्रतिस्पर्धा गरेको हो । सत्ता गठबन्धन उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरेसँग कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रतिस्पर्धा गरिन् ।
चुनाव नतिजा भने एमालेका घिमिरेको पक्षमा आयो । चुनावी अंकगणितमा पराजय निश्चित देखिँदा पनि कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दियो । शुक्रबार कांग्रेस संसदीय कार्यदलको बैठकले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनबाट उप–सभामुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्द्रिरा रानाविरुद्ध कांग्रेसले यादवलाई मैदानमा उतारेको छ । यादवलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।
कांग्रेस नेतृत्वको चार दलीय मोर्चासँग चुनाव जित्ने सांसदको संख्या छैन । तर पनि कांग्रेसले सभामुख र उपसभामुख दुबै पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धाको नीति अपनाएको छ ।
प्रदेशमा पनि छैन तालमेल
संघमा मात्र होइन प्रदेशमा पनि कांग्रेस नेतृत्वको मोर्चाले यस्तै विचित्रको चरित्र देखाएको छ । कुनै प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ भने कुनै प्रदेशमा विपक्षमा उभिएको छ । सभामुख र उपसभामुखको निर्वाचनमा पनि कांग्रेसले अनौँठो नीति अख्तियार गरेको छ । कांग्रेसको मोर्चामा रहेका एकीकृत समाजवादी र लोसपाबीच पनि प्रदेशमा पुरापुर तालमेल मिलेको छैन ।
एकीकृत समाजवादीले गण्डकीको सभामुख र कर्णालीको उपसभामुखमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गरेको छ । माओवादी नेतृत्वको बागमती सरकारलाई विश्वासको मत दिएको छ । एकीकृत समाजवादीले मधेस, कर्णाली, सुदूरपश्चिमको सभामुख तथा प्रदेश १ को उपसभामुखमा कांग्रेसका उम्मेदवारलाई मत दिएको थियो । बागमतीको सभामुखमा भने तटस्थ बस्यो । एकीकृत समाजवादीले कांग्रेसको समर्थनमा मधेस र सुदूरपश्चिमको उपसभामुखमा उम्मेदवारी दिएको थियो । अन्य प्रदेशमा एमालेविरुद्ध उभिएको एकीकृत समाजवादीले लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दियो ।
लोसपाले मधेस प्रदेशको सभामुखमा एमालेका उम्मेदवारलाई मत दिएको थियो । उसले उपसभामुखमा पनि जनमत पार्टीकी बबिता कुमारी राउतलाई समर्थन गरेको थियो ।
कांग्रेसले पाँच वटा प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नीति लिँदा एकीकृत समाजवादीले तीन मुख्यमन्त्रीलाई विश्वासको मत दिएन । लोसपाले प्रदेशमा सत्ता गठबन्धन रोजेको छ भने केन्द्रमा कांग्रेसको मोर्चामा जोडिएको छ । राष्ट्रिय जनमोर्चा भने सत्ता गठबन्धनको पुरापुर विपक्षमा उभिएको छ ।
कांग्रेस नेतृत्वको मोर्चा एमालेप्रति आक्रमक देखिएको छ । कांग्रेसले एमालेका कुनै पनि मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिएको छैन । एमाले नेतृत्व गरेको प्रदेश १, लुम्बिनी र गण्डकी सरकारलाई कांग्रेसले विश्वासको मत दिएन ।
विश्वासको मत लिन बाँकी एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई पनि कांग्रेसले मत नदिने बुझिएको छ । माओवादी नेतृत्वको कर्णाली सरकारलाई पनि कांग्रेसले विश्वासको मत भएको छैन । तर मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भने कांग्रेसले विश्वासको मत दिएको छ ।
यता कांग्रेसले सभामुख र उपसभामुखमा मुख्यतः प्रदेशमा पनि एमालेप्रति प्रतिस्पर्धाको नीति अपनाएको छ । प्रदेशको सभामुख र उपसभामुख निर्वाचनमा कांग्रेसले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गरेको छ । माओवादीप्रति प्रदेशमा पनि कांग्रेसले नरम नीति लिएको छ ।
कांग्रेसले प्रदेश १ र लुम्बिनीमा सभामुख निर्वाचनमा माओवादी उम्मेदवारलाई सघाएको छ । कांग्रेसले प्रदेश १ र लुम्बिनीमा माओवादी केन्द्रका सभामुखलाई निर्विरोध हुन सघाएको छ । प्रदेश १ मा प्रमुख प्रतिपक्षी कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भए ।
उपसभामुखमा भने एमालेविरुद्ध कांग्रेसले उम्मेदवारी दिएको थियो । एमालेकी सिर्जना दनुवारविरुद्ध कांग्रेसले प्रदेश सांसद लिला राईलाई मैदानमा उतारेको थियो । मधेसमा कांग्रेसले सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको थियो ।
सभामुखमा एमालेका रामचन्द्र मण्डलविरुद्ध कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए भने उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउतसँग एकीकृत समाजवादीकी बेची लुङ्गेलीले प्रतिस्पर्धा गरेकी थिइन् ।
कांग्रेसले बागमतीमा सत्ता गठबन्धनबाट सभामुखमा राप्रपाका भुवन पाठकविरुद्ध शिवराज अधिकारीलाई उम्मेदवार बनाएको थियो । यस्तै उपसभामुखमा एमालेकी अप्सरा चापागाइविरुद्ध कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो ।
यस्तै गण्डकी प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट माओवादीका कृष्ण धितालविरुद्ध कांग्रेसले सरस्वती अर्याल तिवारीलाई उम्मेदवार बनाएको थियो ।
यस्तै उपसभामुखमा एमालेकी विनाकुमारी थापाविरुद्ध कांग्रेस सांसद पार्वती तामाङले उम्मेदवारी दिएकी थिइन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसले उम्मेदवारी नदिँदा सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसी निर्विरोध निर्वाचित भए । कर्णालीका सभामुख र उपसभामुखमा भने एमाले र माओवादी दुबैका उम्मेदवारविरुद्ध कांग्रेस उभियो ।
सत्ता गठबन्धनबाट सभामुखमा एमालेकी नन्दा गुरुङ र उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएका छन् । कांग्रेसले कर्णालीको सभामुखमा खड्गबहादुर पोखरेल र उपसभामुखमा इन्द्राकुमारी शाहीलाई उम्मेदवार बनाएको थियो । सुदूरपश्चिम प्रदेशमा पनि माओवादीसँग कांग्रेसले प्रतिस्पर्धा गरेको थियो ।सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीविरुद्ध कांग्रेसले मानबहादुर रावललाई उठाएको थियो । तीन चरणसम्म निर्वाचनबाट माओवादीका भण्डारी निर्वाचित भएका थिए ।
यस्तै उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरीविरुद्ध एकीकृत समाजवादीकी माया पन्तको उम्मेदवारी थियो । संघदेखि प्रदेशसम्म विपक्षी मोर्चामा यो अन्यौल देखिनुमा माओवादीसँगको चुनावी सहकार्य र भावी समीकरणको सम्भावना कारक रहेका नेताहरु बताउँछन् ।
कांग्रेसका एक पदाधिकारीले भने, ‘माओवादीले गठबन्धन भत्काएर नयाँ समीकरण बनाए पनि चुनावताको गठबन्धन बिउँताउने प्रयासले यस्तो भइरहेको छ । यसले संसदीय राजनीति विचित्रको देखिन गयो ।’
सत्ता गठबन्धनमा अविश्वास र आशंका पैदा गराउन केन्द्रदेखि प्रदेशसम्म विपक्षी मोर्चाले रणनीतिक रुपमा चलखेल गरिरहेको उनको भनाइ छ । उनले भने, ‘अहिले सत्ता र विपक्षीको अभ्यास भइरहेको छैन । कांग्रेसले एमालेलाई प्रतिस्पर्धी ठानेको छ । एकीकृत समाजवादीले इगोको राजनीति गरिरहेको छ । त्यसैले भद्रगोल देखिएको हो ।’
कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेकाले सोहीअनुसार पार्टी अघि बढेको बताए । उनले भने, ‘संघमा हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि । त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।