September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

दूधको बक्यौता भुक्तानी माग्दै किसान फेरि आन्दोलनमा, किसानलाई दूधको भुक्तानी दिन सांसदको माग

 असार ५, २०८१,काठमाण्डौ 

दूधको बक्यौता भुक्तानीको माग गर्दै दूग्ध किसान फेरि आन्दोलित भएका छन् । यसअघि दुई पटकसम्म आन्दोलन गरेर सहमति गरेको भए पनि कार्यान्वयन नभएकोले फेरि आन्दोलन गर्नुपरेको केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।

आज दूग्ध विकास संस्थान (डिडिसी) मा घेराउ गर्न पुगेका किसानलाई प्रहरीले पक्राउ गरी केहीबेर कालीमाटी प्रहरी वृत्तमा राख्यो । पक्राउ परेकालाई छाडेको भए पनि आफूहरुको आन्दोलन जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार डिडिसी र निजी कम्पनीबाट किसानले झन्डै साढे चार अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

यसैबीच प्रतिनिधि सभाको बैठकमा सांसदले किसानलाई दूधको भुक्तानी दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले दूग्ध किसानको बक्यौता समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसकी सांसद नागिना यादवले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । दूग्ध किसानको झन्डै साढे चार अर्ब बक्यौतामध्ये सरकारी स्वामित्वको दूग्ध विकास संस्थानको झन्डै एक अर्ब २५ करोड रुपैयाँ छ । बाँकी निजी दूग्ध कम्पनी तथा डेरीको हिस्सा रहेको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको छ ।

गएको वर्षको साउनदेखि दूग्ध किसानको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झन्डै साढे दुई अर्ब रूपैयाँले घटेको हो । संस्थान र नीजि दूग्ध कम्पनी तथा डेरीले भण्डारमा थन्किएको धुलो दूध र मखनको खपत नभएकोले भुक्तानी गर्न नसकेको बताउँदै आएका छन् । किसानले पशुचौपायलाई दाना खुवाउन समस्या हुनुको साथै बैंकको किस्ता भुक्तानी रोकिएको गुनासो गर्दै आएका छन् ।  उज्यालो सहकर्मी