वीरगञ्ज,फाल्गुन १६, २०८०
बाराको निजगढ नगरपालिकामा तीन जनाको ज्यान जाने गरी भएको विस्फोट क्रममा पक्राउ परेका एक भारतीयसहित दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा परी घाइते भएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको छ।
वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता कारवाही अघि बढाएको हो।
घटनाको अनुसन्धानको क्रममा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका– ९ बस्ने २९ वर्षका टीकाराम पाख्रिनलाई पक्राउ गरेको थियो।
पक्राउ परेका भारतीय नागरिक जयसवाल कवाडी किन्ने व्यक्ति हुन्। उनले नै विस्फोट भएको शंकास्पद वस्तु पाख्रिनसित किनेका थिए।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
दुवै जनालाई अदालतबाट सात दिनको म्याद पनि थप गराइएको उनले बताए।
बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको विस्फोटमा परी घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ–५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका– ९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ।
घाइते तीन जना उपचाररत छन्। वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तुलाई परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ। देश सञ्चार
More Stories
नदीमा बेपत्ता बालकको शव फेला
करेन्ट लागेर एकजनाको मृत्यु
सिमलताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित