असिन १५ गते
बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा यहि असोज ९ गते मृत भेटिएका भारतीय नागरिकको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ ।आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।
बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो । बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सिमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
सोनमले आफ्नो प्रेमीसँग मिलेर अजितको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए । सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल–भारतको सिमानाका नजिकै गोली हानी हत्या गरेका थिए ।
हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए । भारतीय प्रहरीसँगको समन्वयमा फरार रहेकाहरूको खोजी कार्य भइरहेको उनले बताए ।
प्रहरी उपरीक्षक काफलेका अनुसार सोनमले प्रेमी सुजितसँग योजना बनाएर अजितको हत्या गरेकी थिइन् । भारतीयलाई नेपालमा ल्याएर हत्या गरे पक्राउ नपर्ने भन्ने मनसायले उनीहरूले अन्य आरोपितहरूसँग मिलेर बारा जिल्लाको सिमानाका नजिकै ल्याएर अजितको गोली हानी हत्या गरेका थिए । सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको प्रहरीलाई बयान दिने क्रममा स्वीकार समेत गरेको काफलेले बताए ।
असोज ९ गते सुजितले अजितलाई आफ्नो मोटरसाइकलमा पछाडि बसाएर भारतसँग जोडिएको नेपाली सिमानाका लक्ष्मीनियासम्म ल्याएका थिए । त्यहाँ अजितमाथि सुजितले गोली प्रहार गरेका थिए । अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । अजितको हत्या पश्चात् सुजितले सोनमलाई फोन गरेर काम भएको भन्दै भाग्न आग्रह गरेका थिए । उनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।
घटनाको पछाडिको कारण प्रेम सम्बन्ध मात्र नभई पैसाको लेनदेन पनि रहेको प्रहरी उपरीक्षक काफलेले बताए । सुजित र अजित एउटै आपराधिक समूहका सदस्य हुन् । उनीहरूले करिब तीन वर्ष अगाडि भारतको घोडासहनको एक ठाउँमा सुन लुटपाट गरेका थिए । सुन विक्री गरेर आएको आठ लाख रुपैयाँ नगदको विषयलाई लिएर उनीहरूबिच लामो समयदेखि विवाद चल्दै आएको थियो ।
सुन बेचेर उनीहरूले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी अर्थात् आफ्नो प्रेमिका सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडि बढ्न खोजेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको काफलेले बताए ।त्यही समूह एक वर्ष अघिपनि भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्यामा समेत संलग्न रहेको खुलेको छ ।
त्यस्तै सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई पनि यही समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजितले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । उक्त घटना प्रकरणमा प्रहरीले भारत घोडासहनका प्रमोद रामलाई यसअघि नै पक्राउ गरिसकेको छ ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।