July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन

 

ताप्लेजुङ, असार २० गते । 

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्थानीय स्तरमै प्रशस्त रूपमा पाइने अल्लोको प्रवर्द्धन गर्न धागो बनाउने तालिम सञ्चालन गरिरहेको हो ।

मैवाखोला गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत स्थानीय महिलाहरूको सहभागितामा अल्लोको धागो बनाउने तालिम सञ्चालन गरिएको हो । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुमा अल्लोको धागो बनाउने (उत्पादन गर्ने) आधारभूत सीप सिकाउने गरी आयोजना गरिएको सात दिने तालिम बुधबार सम्पन्न भएको छ ।

उक्त तालिममार्फत १० महिलाले अल्लोको धागो बनाउने सीप सिकेका मैवाखोला गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । प्रशासकीय अधिकृत गोम्देनका अनुसार चालु आर्थिक वर्षभित्र गाउँपालिकाका विभिन्न वडामा गरी २७ जनालाई अल्लोको धागो उत्पादन सम्बन्धी तालिम प्रदान गरिएको छ । स्थानीय महिलालाई सीप सिकाइ उद्यमी सिर्जना गर्ने र उनीहरूलाई आय आर्जनमा जोड्ने गाउँपालिकाले उद्देश्य राखेको उहाँले बताउनुभयो ।

यस्तै, पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले गाउँपालिकाको विशिष्ट पहिचानको रूपमा अल्लोलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएरसमेत तालिम सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष वनेमका अनुसार अल्लोको धागो उत्पादन सम्बन्धी तालिमपछि कपडा उत्पादनको तालिम सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको छ । यता अल्लो धागो उत्पादनको तालिमसँगै सहभागीलाई धागो बनाउने प्रविधि मेसिन (चर्खा) पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ ।