July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सशस्त्र प्रहरीले ल्यायो नयाँ बुट र चुस्ता, अन्त्य भयो बेडबिस्तारा बोक्ने परिपाटी

 

काठमाडाैं | 

सशस्त्र प्रहरीले नयाँ गुणस्तरको बुट, चुस्ता र ज्याकेट ल्याएको छ । टेण्डरमार्फत ल्याइएको ३५ हजार बुट, ३७ हजार चुस्ता र ३७ हजार ट्रायक सुट कर्मचारीलाई वितरण गरिएको छ ।

सशस्त्र प्रहरीमा महानिरीक्षक (आईजीपी) बढुवा भएपछि राजु अर्यालयले फौज सरुवा भएर जाँदा आफ्नो बेडबिस्तारा बोक्नु पर्ने पद्धतिलाई अन्त्य गर्ने बताएका थिए ।

अब त्यो पनि अन्त्य भएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए ।‘चिफ सा’बको बेडबिस्तारा बोक्ने अवस्थाको अन्त्य भन्ने कुरा लागु भइसकेको छ,’ एसएसपी खड्काले लोकान्तरसँग भने । सशस्त्र अहिले सबै यूनिटहरूमा म्याट्रेस, तकियालगायतका सामानहरू उपलब्ध गराइसकेको छ ।

यस पटकबाट सशस्त्रका कर्मचारीलाई आवश्यक पर्ने गुणस्तरीय कम्बल उपलब्ध गराएको एसएसपी खड्काले बताए । २० हजार नयाँ ज्याकेटहरू समयमै आएको सशस्त्रले बताएको छ ।

null

सशस्त्रका प्रवक्ता खड्काले सशस्त्र प्रहरीको स्थापना कालदेखि अहिलेसम्मको इतिहासलाई हेर्दा सबैभन्दा गुणस्तरको सामान आएको दाबी गरे ।
‘सशस्त्र स्थापना भएदेखि नै अहिलेसम्म सबैभन्दा गुणस्तरको सामान ल्याउने आईजीपको प्रयास बमोजिमको सामान आएको छ’ प्रवक्ता खड्काले भने, ‘कति राम्रो छ अझै लगाएर हेर्न त बाँकी तर यसअघिका भन्दा अहिले राम्रो छ भन्न सकिन्छ ।’

सशस्त्रले ट्रायकसुट भने अहिलेबाट शुरुवात गरेको हो । सशस्त्र प्रहरीले टेण्डरमार्फत सबै सामानहरू ल्याएको हो ।

हिमाली क्षेत्रमा सीमा सुरक्षामा खटिएका सशस्त्रका कर्मचारीलाई आवश्यक पर्ने गुणस्तरीय ज्याकेट, बुट, स्वेटर, टोपी लगायतका सामानहरूको टेण्डर प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ ।

‘हिमाली क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय सामानहरूका लागि पनि टेण्डर प्रक्रिया अगाडि बढेको छ,’ एसएसपी खड्काले लोकान्तरसँग भने ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (आइतवार) मात्रै सशस्त्र प्रहरीलाई हिमाली क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय सामानहरू ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।