July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

संखुवासभामा २० जना अझै बेपत्ता

संखुवासभा —

 

 शनिबार रातिको बाढीले संखुवासभाको पाँचखपन–९ स्थित सुपर हेवा खोला जलविद्युत् आयोजनामा कार्यरत १७ जना मजदुरसहित जिल्लाभर बेपत्ता २० जना अझै फेला परेका छैनन् ।

हाइड्रोपावरका मजदुरको खोजीमा चार दिनदेखि २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार सभापोखरीमा २ र नुनढाकीमा बेपत्ता १ जना पनि भेटिएका छैनन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार हेवा खोला मिसिने सभाखोला गेग्रानले भरिएको छ । खाँदबारी र चैनपुर नगरपालिका जोड्ने सभाखोलाको ९० फिट अग्लो स्टिल पुल बाढीपछि बालुवा थुप्रिएर ४ फिट मात्रै माथि छ ।

यहाँ आइतबार बिहानसम्म पानी पुलको माथि चढेको थियो । सभाखोलाको बहाव पुलभन्दा करिब २ सय मिटर तल अरुण नदीमा मिसिन्छ । खोला धेरै पुरिएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको डीएसपी गोदारले बताए । मंगलबार चैनपुर–१० निगुरेमा एउटा शव भेटिएको छ । कम्मरभन्दा मुनिको भाग मात्र भेटिएका कारण शवको सनाखत हुन सकेको छैन ।