July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको चन्द्रपुर खानेपानी संस्थाको सपथ ग्रहण तथा पद हस्तान्तरण

§
मुकेश कुमार साह
रौतहट २९,जेठ ।
चन्द्रनिगाहपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित पदाधिकारीहरुले सोमबार पदभार ग्रहण गरेका छन् । पदाधिकारीलाई चन्द्रपुर नगरपालिकाका प्रशासकिय अधिकृत किरणनिधी तिवारीले शपथ तथा पदभार ग्रहण गराएको हो । प्रशासकिय अधिकृत तिवारीको अध्यक्षता तथा नगरप्रमुख संजय काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रपुर नगरपालिका प्रमुख सन्जय काफ्लेले उपभोक्तालाई स्वच्छ र सफा पानी उपलब्ध गराउन कार्यसमितिले योजनाबद्धरुपमा सबैलाई मिलाएर लैजानुपर्ने बताए । उपभोक्ताले माग गरेको २४ घण्टाभित्रै धारा उपलव्ध गराउने परिपाटी विकास गर्न नयाँ नेतृत्वलाइ सुझाव समेत दिए । उनले संस्थालाई व्यक्तिगत नभई विधिबाट सञ्चालन गर्न पनि आग्रह गरे ।‘खानेपानी संस्थाको लागि मेरो व्यक्तिगत र नगरले के गर्नुपर्छ हामी तयार छौँ तपाईहरू एक भएर खानेपानीको विकासमा लाग्नुहोस्’ काफ्लेले भने –‘जनचाहना र चुनावमा लिएका प्रतिवद्धताहरू पूरा गर्नतर्फ खानेपानीको नयाँ नेतृत्वले जानुपर्ने सुझाव दिए । निर्वाचित नयाँ कार्यसमितिलाई खानेपानी संस्थालाई अझै अगाडि लैजाने र नमुना संस्थालाई थप विकास गर्नका लागि चुनौति संगै अवसरहरु रहेको बताएका थिए । सडक विस्तारका क्रममा खानेपानीको पाईपलाईनमा क्षति पुग्ने र त्यसबाट खानेपानी वितरणमा समस्या हुने होकी भन्ने आम उपभोक्तामा चिन्ता रहेकोमा कार्यसमिति संगै नगरपालिका पनि संगै मिलेर काम गर्ने भएकोले त्यसलाई सहि ढंगले योजना बनाएर काम गर्न सकिने भन्दै त्यस प्रति चिन्तित हुनुपर्ने अवस्था नरहेको काफ्लेले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिपक धितालले कर्मचारीको लापरवाहीका कारण खानेपानीमा यसअघि केही समस्या देखिएको भन्दै नयाँ पदाधिकारीलाई आफ्नो सहयोग सधै रहने बताए ।
उनले खानेपानीभित्र भष्ट्राचार भयो भनेर एक किसिमको प्रचार भएकोमा गलत प्रचार नगर्न पनि आग्रह गरे । ‘खानेपानीभित्र भष्ट्राचार भयो भनेर बजारमा हल्ला छन , तर यि कुरा कुनै सत्यता नरहेको र बिभिन्न निकायमा पुगेकाले यो टुङ्गो निकायले नै लगाउने छ’ उनले भने ।’ उनले आफ्नो पालमा धेरै राम्रा कामहरू भएको पनि दाबी गरे । आफुले यस खानेपानीलाई २८ सय भन्दा माथी उपभोक्ता माझ पुर्याउन दिनरात खटेको सुनाए । यस्तै कार्यक्रममा नेकपा एमालेका चन्द्रपुर नगरकमिटी अध्यक्ष शिव आचार्यले नयाँ नेतृत्वलाई आफूहरूको सहयोग हुने भन्दै गलत कामको विरोध गर्ने बताए । नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले उपभोक्ताको मन जितेर काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए । यस्तै नेपाली काङ्रेसका चन्द्रपुर नगरसभापती मुकेश गिरीले नवनिर्वाचित कार्यसमितिमा पुराना पुस्ता संगै नयाँ पुस्ताको समेत प्रतिनिधित्व भएकोले पुरानाको अनुभव र नयाँको जोसलाई सहि रुपमा ब्यबस्थापन गरेर अगाडि बढ्न सकिने धारणा ब्यक्त गरे । उनले उपभोक्ताको लागी आफु श्रमदान गर्न समेत तयार रहेको बताए । कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधी चेत बोल्खेले सबैको साथ सल्लाह र सहकार्यमा खानेपानी संस्थालाई थप मजबुत बनाउन नयाँ कार्यसमिती लाग्नु पर्ने सुझाव राख्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष किशोर उपाध्यायले निवर्तमान कार्यसमितिका पदाधिकारी संगै सरोकारवाला सवै संग समन्वय गरेर उहाँहरुको सल्लाह सुझावलाई ग्रहण गर्दै आगामी दिनका कार्यलाई अगाडि बढाईने बताए ।
कार्यक्रममा चन्द्रपुर वडा न.४ का अध्यक्ष रवि राना मगर,वडा न.५ का अध्यक्ष निलहरी कोईराला लगायतले आफ्ना मन्तव्य राखेका थिए । खानेपानीकै प्राङ्गणमा भएको कार्यक्रमको संचालन निवर्तमान सचिव रामबहादुर घलानले गरेका थिए । चन्द्रनिगाहपुर खानेपानीले चन्द्रपुर नगरपालिकाको वडा नम्वर ४,५, र ६ मा खानेपानीको सुविधा उपलव्ध गराउँदै आएको छ ।