July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एसपीलाई मुख्यमन्त्रीको फोन : लेकसाइड १२-१ बजेसम्म खोल्न दिनू

 

२१ माघ, पोखरा ।

पोखराको लेकसाइडका व्यवसायीले शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर आफ्ना व्यवसाय २४ घण्टा आफ्ना माग राखे ।

शुक्रबार पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री अधिकारीलाई भेटेर प्रहरीले रातिसम्म पसल खोल्न नदिएको, लेकसाइड आउने पाहुनालाई चेकजाँचका नाममा दुख दिएको गुनासो गरे ।

परिषद्का पूर्वध्यक्ष सूर्य भुजेलले मुख्यमन्त्री अधिकारीलाई लेकसाइडमा आउने पाहुनालाई चेकिङका नाममा अनावश्यक दुख दिइरहेको बताए । ‘यहाँबाट बाहिर जाने पाल्पा, स्याङ्जा या दमौली जानेलाई चेकिङ गर्दैन । लेकसाइड आउनेलाई अनावश्यक दुख दिन्छ । के त्यो नियोजित हो ?’ भुजेलले प्रश्न गरे ।

भुजेलको कुरा सुनेपछि मुख्यमन्त्री अधिकारीले सहयोगीसँग फोन मागे ।

भुजेलले प्रहरीले ९ बजेदेखि नै होटल व्यवसाय बन्द गर्न पनि दबाव दिँदै आएको गुनासो गरे । भुजेलले आफ्नो कुरा राखिसकेका थिएनन्, उनलाई रोक्दै मुख्यमन्त्री अधिकारीले कास्कीका प्रहरी प्रमुख अजय केसीलाई फोन गरे ।

‘एसपीज्यू, पोखरा आउनेलाई अनावश्यक चेक गर्ने ! त्यसमा पनि पोखरा, लेकसाइड आउनेलाई मात्रै गर्ने, यहाँबाट बाहिर जाने पर्वत, स्याङ्जा या दमौली जानेलाई चेकिङ गर्दैन रे !’ उनले एसपी केसीलाई भने ।

व्यवसायीहरुले आफूहरु १२–१ बजेसम्म व्यवसाय गर्न पाउनुपर्ने र सरकारले सुरक्षा व्यवस्था गरिदिनुपर्ने माग गरेको भन्दै उनले केसीलाई यो समस्याको आफैं समाधान गर्न सक्ने कि प्रमुख जिल्ला अधिकारीले बैठक गर्नुपर्ने भनी प्रश्न गरे ।

रातिसम्म व्यवसाय खोल्न दिँदा केही गलत क्रियाकलाप भएको भए त्यसलाई रोक्नुपर्ने तर समग्र व्यवसायीलाई मारमा पार्न नहुने मुख्यमन्त्री अधिकारीले बताए ।

‘त्यस्तो शंकास्पद कोही व्यक्ति छ भने त्यसलाई निगरानी गर्ने, तर यसलाई विशेष व्यवस्था गरेर, अलिक प्रोमोट गर्ने, कसैले गलतै गरेको छ भने इन्डिभिजुअल्ली (व्यक्तिगत) गर्छ । तर, समग्र व्यवसायीहरु मारमा परेका छन्’, उनले भने, ‘यो बेला हामीले कसरी हुन्छ, त्यो कुरा ख्याल गर्ने र यहाँको अलि लामोसम्म १०, १२, १ बजेसम्म पनि खोल्न पाउनुपर्‍यो ।’

मुख्यमन्त्री अधिकारीले एसपी केसीलाई यो काम तपाईकै तहबाट हुन्छ कि मिटिङ राख्नुपर्छ भनेर पनि सोधे । एसपी केसीले आफू काठमाडौंमा रहेको र आइतबार फर्किने भन्दै गृह मन्त्रालयले लेकसाइडलाई २४ घण्टा खोल्ने भनेको सुनाए ।

तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ०७४ साल असार १३ गते ‘गृह प्रशासन सुधार मार्गचित्र–२०७४’ सार्वजनिक गर्दै घोषणा गर्दै लेकसाइड र ठमेल २४ सै घण्टा खुला हुने बताउँदा व्यवसायी उत्साहित थिए ।

१० नबज्दै प्रहरीको सिट्ठी र हप्कीदप्कीबाट आक्रान्त बनेका पर्यटन व्यवसायी ‘गृह प्रशासन सुधार कार्ययोजना’लाई खुलेरै स्वागत गरेका थिए ।

तर, सरकारको उक्त कार्ययोजना ५ वर्ष बितिसक्दासमेत कार्यान्वयन भएको छैन । पोखरा लेकसाइडका पर्यटन व्यवसायीको नियति अझै फेरिन सकेको छैन । अहिले पनि १० नबज्दै प्रहरी लेकसाइडका होटल तथा रेस्टुरेन्ट बन्द गराउन पुग्छन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेसँगै केही समय लेकसाइड २४ सै घण्टा खुलेको थियो । तर, लामो समय टिकेन ।