September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रकम अभावले अस्पताल भवन निर्माण कार्य अलपत्र

 

बनेपा–

 अस्पताल भवन निर्माणका लागि रकम अभाव भएपछि काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकास्तरीय आधारभूत अस्पताल भवन निर्माण कार्य रोकिएको छ । दुर्गमका नागरिकलाई घरआँगनबाट नै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिका–५ तालढुङ्गामा पालिकास्तरको १० शय्याको अस्पताल भवन निर्माण थालिएकोमा अहिले रकम अभावका कारण काम रोकिएको गाउँपालिकाले जनाएको छ ।

तालढुङ्गा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि भवन निर्माण कार्य अगाडि बढेकामा अहिले रकम अभावका कारण काम रोकिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । ‘अघिल्लो वर्षसम्म नियमितरूपमा बजेट आए पनि यस वर्षदेखि नियमित आउने बजेट रोकेका कारण काम गर्न सकिएको छैन’, गाउँपालिका अध्यक्ष थिङले भने , ‘यसअघि ठेक्का आह्वान गरेको बेलामा बहुवर्षीय ठेक्का स्वीकृत गर्नुपर्नेमा त्यही बेला तात्कालिक पालिकाको नेतृत्वले त्यसैमा त्रुटि गरेका कारण यस आर्थिक वर्षदेखि बजेट परेको छैन ।’ बहुवर्षीय ठेक्का स्वीकृत नगरेका कारण मन्त्रालयबाट छुट्याउनुपर्ने बजेटमा आफ्नो दायित्वभित्र नराखेको कारण रकम अभावले गर्दा काम अगाडि बढाउन नसकिएको हो ।

निर्माणको काम रोकिएपछि योजनालाई बजेटभित्र पार्नका लागि गत आर्थिक वर्षमा पनि मन्त्रालयमा धेरै पटक धाए पनि पार्न नसकेको अध्यक्ष थिङले बताए । अहिले पछि भवन सम्पन्न गर्नका लागि पटक पटक मन्त्रालय धाए पनि अर्थले स्वास्थ्यलाई देखाउने, स्वास्थ्यले अर्थलाई देखाउने मात्रै भएको उनको गुनासो छ । १६ करोड ६४ लाखमा ठेक्का आह्वान गरी तुन्दी-जम्बुदीप जेभीले २०७७ असारमा १२ करोडमा ठेक्का सम्झौता गरी निर्माण कार्य थालनी गरेकामा अस्पताल प्रशासनिक र क्वार्टर भवनको अहिले बाहिरी संरचना सकेर प्लास्टरको केही कामसमेत सकिएको छ । 

ठेक्का सम्झौता भएर करिब नौ महिनापछि मात्रै निर्माण कार्य सुरु भएको थियो । निर्माण कम्पनीले काम गर्दै गर्दा गत वर्षमा मात्रै साढे दुई करोडको रकम भुक्तानी गर्नुपर्नेमा दुई करोड मात्रै रकम भुक्तानी भएर अहिले निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकमसमेत दिन नसकिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका इञ्जिनियर अनमोल आचार्यले अहिलेसम्ममा रु चार करोड जतिको काम भइसकेकामा प्रशासन र क्वार्टर भवनको ८० प्रतिशत काम सम्पन्न भएको बताए । रकम अभावका कारण अझै अस्पतालको भवन निर्माणको कार्य सुरु गर्न नसकिएको उनले बताए । ‘सम्झौताअनुसार २०७९ असार मसान्तमा सकिनुपर्नेमा निर्माण कार्य बाँकी रहेकाले एक वर्ष थप गरेर २०८० असार मसान्तसम्म समयसीमा तोकिएको छ’, उनले भने, ‘तर अहिले काम ठप्प भएको छ ।’

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले निर्माण गरिरहेको काम बीचमा मन्त्रालयबाट नै बजेट नपारेपछि काम अलपत्र अवस्थामा पुगेको हो । खानीखोलाका नागरिक सामान्य बिरामी पर्दा नजिकको स्वास्थ्य चौकीमा सामान्य औषधोपचार बाहेकका थप उपचारका लागि अहिले पनि जिल्ला सदरमुकाम धुलिखेल, बनेपा या छिमेकी जिल्ला मकवानपुरको हेटौँडासम्म जानुपर्ने बाध्यता छ । 

नेपाल सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’को नीतिअनुरूप जिल्लाको विकट डाँडापारि क्षेत्रको खानीखोलामा निर्माण कार्य थालनी गरेको भवन अहिले अलपत्र परेको छ ।