July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा

पोखरा ।

एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेका छन् । ४ टिमले भाग लिएको प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र न्यु डायमण्ड उपाधि होडबाट बाहिरिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा बिहीबार पहिलोे सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलमा २५–१३, २५–१७ र २५–२१ को सेटमा जीतमा हात पारेको हो । खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच र आरती सुवेदी स्पाइकर अफ दी म्याच बनिन् । एपिएफ साविक विजेता हो ।

यसैगरी, दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै एपिएफसँग फाइनल भेट सुनिश्चित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएकोमा उसले पछिल्ला सेट २५–१३, २५–२२ र २५–१२ मा जीत हासिल गरेको हो । खेलमा डायमण्डकी प्रगति नाथ प्लेयर अफ दी म्याच र आर्मीकी साफिया पुन स्पाइकर अफ दी म्याच घोषित भइन् ।

उता, पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । एपीएफ क्लब, त्रिभुवन आर्मी, गण्डकी प्रदेश र पुलिस क्लब अन्तिम ४ मा पुगेका हुन् । पाहुना टोली सेन्ट जोशेफ भने बाहिरियो । सबै चार खेल जिदै सर्वाधिक १२ अंकका साथ शीर्षमा रहेको एपिएफले मात्र २ अंक जोडेको नेपाल पुलिससँग सेमिफाइनल खेल्नेछ । ८ अंक जोड्दै दोस्रो स्थानको गण्डकी प्रदेशले अंक तालिकाको तेस्रोमा रहेको त्रिभुवन आर्मीसँग अर्को सेमिफाइनल खेल्नेछ ।

बिहीबारको खेलमा गण्डकी प्रदेशले सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई ३–० सोझो सेटमा हरायो । जसमा २६–२४, २५–१४ र २५–२३ स्कोर कायम भयो । गण्डकीका विवश आले प्लेयर अफ दी म्याच र हिमाल सुनारी स्पाइकर अफ दी म्याच चुनिए ।

त्रिभुवन आर्मीले नेपाल पुलिसलाई सोझो सेटमा हरायो । आर्मीले २५–१७, २५–१९ र २५–२३ सेटमा पुलिसलाई हराउँदै अंक तालिकामा दोस्रो स्थानसहित फाइनल प्रवेश भिडन्त सुनिश्चित गरेको हो । प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट क्षेत्री प्लेयर अफ दी म्याच र राजेन्द्र विष्ट स्पाइकर अफ दी म्याच भए । शुक्रबार पुरुषतर्फ पहिलो सेमिफाइनलमा एपिएफ र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ तेस्रो स्थानका लागि न्यु डायमण्ड र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल शनिबार हुनेछ । जसमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी र हास्यकलाकार जितु नेपालको उपस्थिति रहने आयोजकले जनायो ।