काठमाडौं ।
अहिले सामाजिक सञ्जालमा ‘चेली’ शब्द सर्वत्र चर्चामा छ । ‘चेली’ शब्दले बोक्ने अर्थको आयाम, विस्तार र सीमामाथि अनेकानेक तर्कबितर्क र टीकाटिप्पणी चलिरहेका छन् । रास्वपाकी सांसद सुमना श्रेष्ठले गएको माघ ८ गते सदनमा महिलालाई ‘चेली’ सम्बोधन गरिएकोप्रति आपत्ति जनाइन् ।
उनले भनेकी थिइन्, ‘यो सदनमा धेरैचोटि सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ? कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।’
‘चेली’ शब्दप्रति केहीले विरोधमा र केहीले आपत्ति दर्शाएर सञ्जालमा स्टाटस र ट्वीट दगुराइरहेका छन् । महिला अधिकारकर्मी मोहना अन्सारी ‘चेली’ शब्द व्यवहारिक र कानूनी रुपमा सम्बोधन गर्दा आशय फरक हुने उल्लेख गर्दै ट्वीट गर्छिन्, ‘चेली भन्नासाथ तपाईंको व्यवहारिकताभन्दा आत्मीयता झल्किन्छ भन्ने तर्कले यदि महिलाहरु सम्मान महसुस गर्दैनन् भने केको आपत्ति ?’ महिलाले ‘सम्मान’ महसुस गर्दैनन् भने चेली सम्बोधन गलत नै हो भन्ने तर्क अन्सारीको छ ।
तर, ट्विटरमै सदीक्षा कार्की लेख्छिन्, ‘चेली शब्दप्रति जुन आपत्ति र आक्रोश छ, सबैभन्दा पहिला चुनावमा प्रत्यक्ष लड्न जाने प्रत्येक महिला उम्मेदवारले म हजुरहरुकै चेली हुँ, सहयोग गरिदिनु होला भन्न बन्द गरौं । मैदानबाटै चेलीबेटी शब्द हटाउन सकेमात्रै संसदमा नेतृ बन्न सजिलो हुन्छ ।’ साथै कार्कीले सांसद श्रेष्ठप्रति व्यंग्य गर्दै थप लेखेकी छन्, ‘मेरो यो विचार समानुपातिकका लागि हैन है !’
लेखक सुमिना पनि ‘चेली’ शब्दलाई नराम्रो अर्थको रुपमा नमान्ने बताउँछिन् । तर, सम्मानित पदमा भएको मान्छेलाई चाहिँ ‘चेली’ शब्द प्रयोग गरिनुप्रति उनको विमति छ । उनी भन्छिन्, ‘सम्मानित पदमा भएको मान्छेलाई बहिनी, चेली शब्द प्रयोग नगरौं भन्ने अहिलेको संसदको कुरासँग मेरो सहमति नै छ
।
चेली भन्नु सम्मान हो, अपमान होइन
पूर्वसांसद तथा एमाले केन्द्रीय सदस्य नवीना लामा ‘चेली’ शब्द नेपाली समाजको चलनचल्तीको सभ्य भाषा भएको बताउँछिन् । संसद भवनमा औपचारिक रुपमा सभामुखले बोलाउँदा ‘माननीय’ नै सम्बोधन गर्ने उनको अनुभव छ । उनी भन्छिन्, ‘चेली सम्बोधन गर्नु कुनै पनि खालको अपमान हुनै सक्दैन । चेली त सम्मान गरिएको शब्द हो, अपमान होइन ।’
लामाको अनुभवले भन्छ, अनौपचारिक अवस्थामा चेली सम्बोधन गरिने भए पनि सदनमा औपचारिक कार्यक्रममा माननीय नै भनिन्छ । अनौपचारिक अवस्थामा चाहिँ योगेश भट्टराई, प्रदीप ज्ञवाली, भानुभक्त ढकालहरुले संसद भवनभित्र चेली भनेर लामालाई बोलाउँथे । त्यसैले पनि ‘चेली’ शब्दप्रति आफ्नो विरोध नभएर प्रेम र अपनत्व भएको लामाको भनाइ छ ।
अह्राउपह्राउ मान्ने आइमाई भन्नु त्रुटि होइन
नेपाली बृहत शब्दकोषले चेलीमाथि भनेको छ, ‘छोरी, शिष्या, छात्रा, दिदीबहिनी, अह्राउपह्राउ मान्ने आइमाई, फुपू वा फुपूकी छोरी ।’ शब्दकोषले उल्लेख गरेको ‘अह्राउपह्राउ मान्ने आइमाई’प्रति धेरैले आपत्ति जनाएका छन् । अर्कातिर ‘चेलो’ वा ‘चेला’ शब्दबारे चाहिँ भनिएको छ, ‘शिष्या, छोरो, गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति, अनुयायी ।’
कवि तथा नेपाली भाषाविद् सोझो गाउँले शब्दकोषमा उल्लेख ‘अह्राउपह्राउ गर्ने आइमाइ’ भनिएको अर्थलाई त्रुटि मान्दैनन् । बरु यो वाक्य अगाडि नराखेर पछाडि राखेको भए राम्रो हुने ठान्छन् । भन्छन्, ‘अह्राउपह्राउ भन्नु गलत होइन । त्यो अगाडि चाहिँ राख्नु हुँदैन थियो । शब्दकोषमा अहिलेको मान्छेले जे चाहन्छ त्यो मात्रै राख्ने होइन । राम्रो, नराम्रो शब्द त सबै थाहा हुनुपर्यो नि ! कोष बनाउनेले सबैखाले शब्द राखिदिनुपर्छ । कुन सन्दर्भमा कसरी प्रयोग गरियो भन्नेले चाहिँ अर्थ राख्ने हो ।’
कसैले ‘छोरीचेलीले दुःख पाइरहेका छन्’ भन्दा गलत अर्थ नलाग्ने गाउँलेको मत छ । बरु एनजीओ, आईएनजीओमा काम गर्नेहरुले अंग्रेजी शब्दको अर्थअनुसार नेपाली शब्द खोज्ने, छान्ने गर्दाखेरि धेरैथोक बिग्रिएको उनी बताउँछन् । गाउँले थप्छन्, ‘हरेक शब्द इतिहास, परम्परासँग जोडिएको हुन्छ । शब्दकोषमा खराब शब्द पनि हुन्छन् । तर, त्यो शब्द कोषमा राख्नै हुन्न भन्नु अल्पज्ञान हो । सबैखाले शब्दले गर्दा नै भाषा समृद्ध हुने हो ।’
शब्दलाई स्पष्ट भएर प्रयोग गर्दा समस्या आउँदैन
किराँती समुदायमा ‘चेली’को सांस्कृतिक महत्व र अर्थ विराट भएको मुन्दुम अध्येता तथा प्राध्यापक भोगीराज चाम्लिङको तर्क छ । उनका अनुसार चेली किराँती सांस्कृतिक जीवनको अभिन्न पाटो हो, जोविना केही संस्कार पनि सम्भव हुँदैन । किराँती समुदायमा तीनवटा चुल्होको आ-आफ्नै अर्थ हुन्छ । एउटा चुल्हो बाउप्रतिको श्रद्धाका लागि हुन्छ । अर्को आमा वा छोरीचेलीप्रतिको श्रद्धा र सम्मानका लागि हुन्छ भने अर्को चुल्हो छिमेकीप्रतिको भाइचाराका लागि हुन्छ ।
चाम्लिङ भन्छन्, ‘किराँतीको सांस्कृतिक अभ्यासमा चेली नभई हुन्न । बिहेको वेला अनिवार्य बाटो छेक्नुपर्यो । सोलुतिर माइतीको शीर उभ्याउनुपर्यो । वाम्बुले राईहरुको पितृसंस्कार चेली नभई सम्भव हुँदैन ।’
तर, राजनीतिक कोणबाट हेर्दा भने हिन्दु समाज र किराँती समाजमा चेलीको अवस्था फरक हुने चाम्लिङको विश्लेषण छ । हिन्दु समाजमा चेलीलाई परिवारभित्रको सदस्यको रुपमा मात्रै मानेर आर्थिक, सांस्कृतिक रुपमा माइतीभन्दा कमजोर इलेमेन्टको रुपमा हेरिन्छ । संसदबाट उठेको चेलीमाथिको बहसलाई लिएर चाम्लिङ थप्छन्, ‘संसदमा महिला नेतृलाई चेलीको रुपमा मात्रै मान्ने हो भने समानता र अधिकारको रुपमा उनीहरुलाई एक तहमुनि पारियो । संसदमा चाहिँ बरु चेली नभनेर महिलालाई शक्ति र सामर्थ्य भएको सांसदको रुपमा व्याख्या गर्दा राम्रो हुन्छ ।’
चुनावताका चाहिँ ‘म तपाईंकी चेली, भोट दिनुस्’ भनिनुलाई अस्पष्टताको रुपमा व्याख्या गर्छन् चाम्लिङ । म राजनीतिक रुपमा कस्तो खालको अर्थ दिने भाषा प्रयोग गर्दैछु भनेर स्पष्ट हुन नसक्दा त्यस्तो विरोधाभाष देखिने गरेको उनको विश्लेषण छ ।
‘शब्दमा अल्झने काम निकृष्ट काम हो’
अहिले उठिरहेको बहसप्रति भाषाविद् शरच्चन्द वस्तीको भने फरक मत छ । उनका अनुसार सिर्फ शब्दमा अल्झनेहरुले त्यस शब्दले बहन गर्ने आशय बोक्न सक्दैनन् ।
उनी भन्छन्, ‘शब्दमा मात्रै अल्झने काम निकृष्ट काम हो । के गर्दै हुनुहुन्छ भन्दा कसैले ‘पशुपतिमा बस्छु’ भन्न सक्छन् । अब पशुपतिमा पनि बस्ने हो ? भनेर निहुँ खोजे जस्तो हो शब्दको आशय नबुझी निहुँ खोज्नु । शब्दको त आशय र मर्मले धेरै ठूलो ठाउँ राख्छ ।’
वस्तीका अनुसार हामी एकदमै तल्लो तहमा पुगेका छौं । कसले के भन्यो भनेर विवादमा अल्झिएका छौं । तर, भाषाको कम्युनिकेसनको संस्कृतितिर नलागी कोलाहलतिर मात्रै लागेका छौं ।
सबै चेलीमा अल्झिए, मैले धेरै कुरा भनेकी थिएँ : सांसद श्रेष्ठ
मैले भन्न खोजेको नराम्रो होइन । म नेपालभाषा बोल्छु । बुवाले ‘कतिखेर घर आउँछौ मैंया’ भन्नुहुन्छ । त्यो घरमा प्रयोग गरिने भाषा भयो । तर, सदनमा कसैले त्यसो भन्यो भने नमज्जा भयो नि त !
मेरो भनाइको आशय के थियो भने हाम्रो हकहितको कुरा संविधानमै छ । सबैले अधिकारबारे राम्रो व्याख्या गर्नुहुन्छ । तर, व्यवहारमा लागू छैन । डेलिभरी छैन । मेरो शब्द चयनमा अल्झनेभन्दा पनि मर्ममा जाने हो ।
मैले धेरै कुरा भनेको थिएँ । तर, सबै चेलीमा मात्रै अल्झनुभयो । अबको पाँच वर्षमा केही चेन्ज ल्याउँछौं भने हामीले केही फरक डेलिभरी दिने काम गर्नुपर्छ ।
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।