July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

विद्यार्थीद्धारा बौधीमाई न. पा. मा तोडफोड, प्रहरीद्धारा ९ राउण्ड अश्रुग्यास प्रहार

मधेश खबर ९ गते असोज
रौतहट जिल्लाको  बौधिमाई नगरपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन । आइतबार स्थानिय शंकर मा.वि. का विद्यार्थीहरुले नगरपालिकामा तोडफोड गरेका हुन् । विद्यार्थीहरुको समुहले आफुहरुले बारम्बार शैक्षिण भ्रमणको लागि वजेट छुट्याउन माग गरेपनि नगर प्रमुख प्रदिप यादवले अटेर गरेको भन्दै तोडफोड गरेको जनाइएको छ । आक्रोशित विद्यार्थीहरुको समुहले नगरपालिकामा राखिएको नगर प्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । विद्यार्थीहरुले जथाभावी ढुंगा प्रहार गर्दा गाडीका सिसाहरु सबै फुटेका छन् भने विभिन्न भागहरु कुचिएको छ । विद्यार्थीहरुको आक्रमणबाट नगरपालिकाका झ्यालका सिसाहरु , नगरपालिका परिसरमा राखिएका डोजर , मोटरसाइकल लगायतका सवारी साधनहरु पनि तोडफोड भएको नगरपालिकाले जनाएको छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड अश्रु ३ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार विद्यार्थीको आक्रमण बाट बंकुल प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुनिल कुमार यादव तथा सशस्त्र प्रहरीका ३ जना सुरक्षाकर्मी घाइते भएका छन् । त्यसैगरी केही विद्यार्थीहरु पनि घाइते भएका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
नगर प्रमुख प्रदिप यादवले विद्यार्थीहरुले आफुलाई शैक्षिक भ्रमणको लागि रकम माग गर्न आएको स्विकार्दै आफुले पनि परिषद् हुने बित्तिकै व्यवस्था मिलाउने प्रतिवद्धता गरेपनि तोडफोड गरेको बताए । उनले गत शुक्रबार सो विद्यालय अनुगमनको क्रममा विद्यार्थीहरुले भ्रमणको लागि रकम माग गरेको र आफुले विद्यालयका प्रधानाध्यापकसँग बुझ्दा २ लाख भए पुग्छ भनेको बताउँदै आफु त्यसमा सकारात्मक भएपनि आज एक्कासी तोडफोड गरिएकोमा छक्क परेको बताए । ‘मैले विद्यालय अनुगमनको क्रममा विद्यार्थीहरुलाई अहिले डेङ्गुको महामारी छ भ्रमण नजान बरु भ्रमण भन्दा विद्यालयमा शिक्षकको व्यवस्था पहिला गर्नुपर्छ भनेर सम्झाएको थिएँ’ उनले भने , ‘तर विद्यार्थीहरुले हामीलाई शिक्षक होइन छठपछि भ्रमणको लागि पैसाको व्यवस्था गर्न भने । म त्यसमा पनि सकारात्मकनै थिएँ तर आज एक्कासी योजनावद्ध ढंगबाट आक्रमण गरियो ।’ उनले विपक्षीहरुले आफुमाथि योजनावद्ध ढंगले विद्यार्थीहरुको प्रयोग गरेर सांघातिक हमला गरेको आरोप लगाउँदै आफु बालबाल बचेको सुनाए । ‘शुक्रबार विद्यार्थीहरुसँग राम्रै कुरा भएको थियो तर आज एक्कासी मेरो कार्यकक्षलाई लक्षित गर्दै ढुंगा प्रहार गरेर नगरपालिकामा आक्रमण भएको छ’ उनको आरोप थियो , ‘विद्यार्थीले मात्र त्यस्तो गर्न सक्दैनन्, यसमा मेरा विपक्षीहरु विद्यार्थीको प्रयोग गरे म अनि नगरपालिका कार्यालय माथि हमला गराए । यसको म घोर निन्दा गर्छुँ ।’
तोडफोड पछिको अवस्था अहिले सामन्य हुँदै गएको र सो स्थान वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।