December 21, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन

काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न निर्देशन दिएका छन् । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए ।

आजपा निकटको आईटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो निर्देशन दिएका हुन् । सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारवाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दुध पाउँने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ ।

‘देशमा भ्रष्टाचार बढदै गएको कारण मुलुकमा बिकास रोकिएको यथार्त हामी सामु छ । नेपालको सम्पती लुटेर दिन दहाडै विदेश लगिदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बर्वाद हुदैछ । सरकारी निकायले भ्रष्टाचारीको अगाड़ी निरीह छ, केही गर्न सकीरहेको छैन् । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन् । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आवश्यक छ । आईटी आर्मीले त्यो कामको नेतृत्व गरोस् ।’

गिरीबन्दु टी–स्टेट देखी लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरुकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ । तर त्यस्तालाई कारवाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए । सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरुको बाहुल्यता भएको टिप्पणी गरे ।

‘अहिले हामी के देखिरहेका छौं की सरकारमै भ्रष्टाचारीहरुको बाहुल्यता रहेको । त्यही सरकारले सरुवा, बढुवा, नियक्त गर्ने अख्तियार सहितका निकायले समेत भ्रष्टाचारीलाई कारवाही गर्न सकेको छैन्’ साहले भने, ‘भ्रष्टाचार गर्नेहरुले संरक्षण पाईरहेका छन् । राज्यकै संरक्षणमा देश लुटने काम भईरहेको देखिन्छ ।’

विदेश गईरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ति सोझासाझा युवाबाट लाखौं रकम लिएर विदेश पठाउँने काम सरकारी निकायबाटै भईरहेको आरोप लगाउँदै स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाईरहेको छ । राज्यकै संरक्षणमा मन्त्री, ठुला व्यापारीको संलग्नतामा हुण्डी कारोबार मार्फत अर्बौ रकम विदेश गईरहेको बताउँदै उनले त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गरे ।

आईटी आर्मीले तेस्रो स्थापना दिवसको अवसरमा आज देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी मनाउँदै छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आईटी आर्मीले भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा स्थापनाकालदेखी नै बिभिन्न कार्यक्रम गर्दै आएको बताए । स्थापना दिवसको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम भईरहेको साहले बताए ।
आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले आईटी आर्मीको स्थापना दिवसको अवसरमा सातै प्रदेशमा बिभिन्न कार्यक्रम भईरहेको बताईन् । बृक्षारोपन, रंगोली बनाउँदै दिपप्रजवलन लगायतका बिभिन्न कार्यक्रम गर्दै स्थापना दिवश मनाउन लागिएको यादवले बताईन् ।

आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, सचिव नारायण पाण्डे, आम उधोग बाणिज्य संघका अध्यक्ष साजन जैसवाल लगायतको विशेष सहभागिता रहेको थियो ।