September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : आफ्नो पार्टी कार्यालाय त बनाउन सक्नुभएन, देश बनाउँछु भनेर कसले पत्याउछ ?

काठमाडौं, ३० साउन ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियालाई हत्या गरिएको कडा टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठूला दलका ठूला नेताहरुलाई हेक्का रहोस भन्दै कडा चेतावनी दिए ।

आज (बुधबार) ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग एने, २०७१ लाई संशोधन गर्न बनेको विद्येयक’ को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो चेतावनी दिएका हुन् । उनलवे भने,‘संक्रमणकालिन न्यायसम्बन्धी यो विद्येयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको छ । म स्वागत गर्न चाहन्छु । र, यसको इमानदारितापूर्वक कार्यान्वयन होस भनेर माग गर्न चाहन्छु ।’

उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाईएको गुनासो पोखे । उनले भने,‘शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग सम्बन्धित हुन्छ । यदि समाजमा न्याय र समानता भएन भने शान्ति हुनैसक्दैन् । जहाँ अन्याय छ, विभेद छ, उत्पीडन छ त्यहाँ शान्तिको परिकल्पना गर्न सकिन्न । शान्ति प्रक्रियाका पक्षधर नेताहरुले बडा दाबाका साथ आफूहरुले पूरै इमानदारिताका साथ र ज्यान लगाएर शान्ति प्रक्रियालाई पूरा गर्यौं भन्ने कुरा राखिरहनुभएको छ । शान्ति प्रक्रियाको सार तत्व भनेको नै जनताका मुद्दा हुन् । जनताका मुद्दा थिए । आन्दोलन र जनयुद्धका मुद्दाहरु थिए, त्यसमा कति हामीले इमानदारितापूर्वक त्यो काम पूरा गर्यौं ? के साँच्चै हामी देशमा स्थिर शान्तिको लागि प्रयासरत छौं ? नेपालमा हामीले साँच्चिकै शान्ति नै चाहेका छौं ? यदि शान्ति पक्षधर आफूलाई ठान्छौं भने निश्चित् रुपमा समाजका विभेद हटाउन आफू इमानदार हुनुपर्छ । जो हिजो जनयुद्ध र जनआन्दोलनकालमा उठाईएका मुद्दाहरु, जो साँच्चै जनताका मुद्दा थिए । ती मुद्दा समानता र न्यायसँग सम्बन्धित थिए । समाजका विभेद हटाउने दिशामा उन्मुख थिए । त्यसमा हामीले के गर्यौं भन्ने प्रश्न आउँछ । यदि हामी शान्ति प्रक्रियाका पक्षधर थियौं भने त्यसमा इमानदारिता देखिनुपर्दथ्यो । हामी कत्तिपनि इमानदारिता देखेका छैनौं ।’

साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘अहिले देशमा लोकतन्त्र कहाँ छ ? नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ? एउटा निरीह, शाषित, लाचारको रुपमा खडा हुनुपरेको छ । अहिले जनतालाई कुनै मूल्य दिईएको छैन् । लोकतन्त्रलाई हामीले पार्टीका नेताहरुले दलीय शासन बनाईदियौं । दलतन्त्र बनाईदियौं । अहिले दुई दल कांग्रेस र एमाले त त्यसलाई पनि मास्न प्रयासरत छन् । भनेपछि जनतालाई मालिक बनाउन लडेको ठाउँमा अहिले जनताको नाममा मुठ्ठीभर नेताहरुले राज गरिराख्दा यो बेईमानीलाई के भन्ने ? संघीयता भन्यौं हामीले, अझ उन्नत लोकतन्त्रको रुपमा नेपालको सन्दर्भमा विविधता छ, विभेद छ । विभेद हटाउनको लागि संघीयताको कुरा गर्यौं । संघीयताको स्थिति के छ ? भन्नलाई त शब्दमा संघीयता नै भनिएको छ, तर व्यवहारमा केन्द्रीयता छ । हामी हेरिरहेका छौं–प्रदेश सरकार त छन्, तर तिनलाई पनि पंगु बनाईएको छ । ती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यहीँ (काठमाडौं) बाट गाईडेड हुन्छन् । दुई÷तीन दलका मुख्य नेताहरुले नै राजनीतिक नियुक्ति गरेझैं मुख्यमन्त्री, मन्त्री बनाउने कुरा यहीँबाट तय गर्नुहुन्छ । अहिले संघीयता अधिकारविहीन, पहिचानविहीन, लक्ष्यविहीन बनाईयो । त्यो इमानदारिता हो ? शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पार्ट भनेको संघीयता हो । समावेशी भनियो, अल्पसंख्यक अनि उत्पीडनमा परेका तल्लो तप्काका लागि समानुपातिकको कुरा गर्यौं, तपाईंहरुले त शासकलाई समानुपातिक बनाउनुभयो । दुनियाँभर नभएका अभ्यास हामीले नेपालमा गर्यौं । शासक जातिलाई दुनियाँमा कहीँ कतैपनि आरक्षणको अधिकार हुँदैन्, तर नेपालमा शासक जातिलाई त्यो अधिकार दिलाउनुभयो । यी सबै विकृति हेर्दा हामी इमानदार छौं कि छैनौं भन्ने प्रश्न आउँछ कि आउँदैन् ?

नेपालमा लोकतान्त्रिक प्रतिष्पर्धाको कुरा गरिएपनि व्यवहारमा भने सिण्डिकेट देखिएको भन्दै त्यसमा पनि उनले प्रश्न उठाए । उनले भने,‘सिण्डिकेट भनेको प्रतिष्पर्धा हुन्छ ? सिण्डिकेट र कम्पिटिशन कहाँ एक ठाउँमा आउँछ भनेर म सोध्न चाहन्छु । हामी साँच्चिकै प्रतिष्पर्धाको पक्षधर हौं भने सिण्डिकेटको परिभाषा र व्यवहारमा त्यस्तो गर्नुहुँदैन थियो । अहिले लोकतन्त्रलाई दलीय सिण्डिकेटले घेर्नुभयो । दलीय सिण्डिेटमा पनि ठूलो पार्टीको सिण्डिकेट ल्याउनुभयो । अनि ठूलो पार्टीमा पनि गुटको सिण्डिकेट ल्याउनुभयो । अन्ततः अहिले देश गुटका नेताहरुले चलाईराखेका छन् । पार्टीलाई गुटले कन्ट्रोल गरेको छ, साना पार्टीलाई ठूलो पार्टीले नियन्त्रण गरेको छ । पार्टीले लोकतन्त्रलाई कन्ट्रोल गरेको छ । भएको छ चाहीँ के भनेर प्रश्न उठ्छ । देशमा गौरव गर्नुपर्ने जनता नै निरिह भएर बसेपछि हामी इमानदार त छैनौं भन्ने देखाउँछ ।’

बोलीमा समानता भनिएपनि नेपालमा अहिले व्यवहारमा भने विशेषाधिकारको अभ्यास भएकोमा पनि उनको आपत्ति थियो । साहले थपे–‘समानता भनेको समान अधिकारको कुरा हुन्छ, विशेषाधिकार भनेको त समानताको विरोधी कुरा हो । हामी त दुईवटै अभ्यास गरिरहेका छौं । कस्तो व्यवस्था र संविधान बनाएका छौं भन्ने कुरा एकचोटी नियाँल्नुपर्छ कि पर्दैन् ?’

शान्ति प्रक्रियाकै मूल सार वा आत्मा भनेको नै राजनीतिक मुद्दा भएकोमा त्यसलाई हत्या गरिएकोमा पनि उनले आक्रोश पोखे । उनले भने,‘राजनीतिक मुद्दालाई हत्या गरेर अनि शान्ति प्रक्रियालाई हामीले अगाडि बढायौं भनेर हुन्छ ? बेइमानी हुँदासम्म देशमा शान्ति हुँदैन् । नेपालमा हामीले शान्तिलाई भाँड्यौं । हामीले शान्ति प्रक्रियालाई धोका दियौं। जनतालाई हामीले ठग्यौं भनेर यो सही कुरा यहीँ बोल्नुपर्ने हो नि? यो ऐतिहासिक समारोह र क्षण हो, हामी त नेपालमा यतिवेला इमानदारिताको खडेरी हेरिरहेका छौं । हामीले संविधानमा समाजवाद भन्यौं तर चरम पुँजीवाद यहीँ देखिन्छ । कम्तिमा हिजोका व्यवस्था र शासकहरु जतिसुकै शोषक र शासक भएपनि आफ्नो पुँजी त नेपालमा नै राख्थे त । एउटा गाउँका सामन्तले भएभरका सम्पत्ति त आफ्नै भकारीमा राख्थे । तर, आजकाहरुले कहाँ लगिराखेका छन् ? त्यो नेपालमा छ ? दलाल पुँजीपति जसले पूरै देशलाई लुटेर यहाँको सम्पत्ति विदेश पुर्याईरहेको छ, त्यसले नै देशमा रजाईं गरिरहेको छ । देश चलाईराखेको छ । विचौलिया र दलालले देश चलाइराखेको छ । यो कुरा हाकाहाक्की भनिदिनुपर्दैन् ? जनतालाई ढाँटेर मुखमा राम राम बगलीमा छुरा गर्ने ? छद्यमभेषी राजनीति गर्ने ? भाषण एउटा गर्ने अनि व्यवहार अर्को देखाउने ? यही होईन अहिलेको देशको यथार्थता ? त्यसैले शान्ति प्रक्रिया भन्दै जाने अनि सार र व्यवहारमा चाहीँ पूरा कैचीं चलाईराख्ने ? जनतालाई पुरै विभेद गरिरहने, समाजमा आतंक मच्चाईरहने अनि विभेदलाई अझै बढाएर लैजान अनि शान्ति, शान्ति भनिराख्ने ? हिजोको राक्षसहरु पनि शान्ति, शान्ति नै गर्दथे नि । तपस्या गर्दथे । हामी सुन्छौं रावायण महापण्डित थिए । तपस्या गर्दथे । अनि साधुको भेष लगाएर सीतालाई अपहरण गर्दथे । नेपालमा पनि सायद यस्तै त गरिरहेका छैनौं हामी भन्ने प्रश्न आउँछ । हामी जे गरिरहेका छौं, ढाँट्ने काम गरिरहेका छौं । शान्ति प्रक्रियामा हामी इमानदार छैनौं । नेताहरुले जसरी शान्तिको लागि हामीले गरेका छौं भनेर यहाँ भन्नुभयो, मलाई चाहीँ कम्तिमा तपाईंहरुले शान्तिको लागि पक्कैपनि गर्नुभएको छैन भन्ने लागेको छ । तपाईंहरुले आफ्नो लागि गर्नुभएको छ ।’

उनले अहिलेका शीर्ष नेताहरुले सबैखाले कुकर्मको जिम्मा लिनुपर्ने टिप्पणी गरे । उनले भने,‘नेताहरुले त यहाँ ठूलो मोडेल भन्नुभयो । अहिलेको कुकर्मको पनि जिम्मा त्यसैमा पर्छ होला नि ? अहिले देशको बर्बादीपनि त्यसमै पर्छ नि । जनताको निराशापनि त्यसमै पर्छ नि । देशको भविष्य जुन अन्यौल भैरहेको छ, त्यसैमा पर्छ नि । नेताहरुमा सबै राम्रो गरेको आफूले जस लिने र नराम्रो चाहीँ अरुलाई देखाउने परिपाटी छ, यो ईमानदारिता भएन । नेपालमा इमानदार नेताको कमी भयो । बेइमानले कहिल्यैपनि घरलाई एक बनाउन सक्दैन् । बेइमानले त कलह ल्याउने हो । आज नेताहरुमा ठूलो बेइमानीको स्थिति छ ।’

उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक फिल्मको डायलगमा ‘म दिन्छु न्याय’ भनेको भिडिओ–क्लिपको प्रसंग उल्लेख गरे । उनले भने,‘म यहाँ आइराख्दा एउटा घट्ना सुनाउन चाहन्छु, म यहाँ आइराख्दा मेरो एकजना एमाले नेतासँग भेट भयो । एउटा भिडिओमा अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले म न्याय दिन्छु भनेर कुनै एक फिल्ममा बोलेको कुरा सुनिरहेको थिएँ । एमालेका ती नेताले भन्नुभयो–उहाँ (ओली) ले आफ्नो पार्टीको कार्यालय त बनाउन सक्नुभएको छैन् । के नेपाल बनाउनुहुन्छ ? उहाँ झण्डै ९÷१० वर्षदेखि एमालेको अध्यक्ष हुनुहुन्छ । एमालेको केन्द्रीय कार्यालय भत्कियो, भत्किएको केन्द्रीय कार्यालय बनाउन नसक्ने नेताले देश बनाउँछु भन्दा मान्छेले पत्याउँछ ? एमालेजस्तो ठूलो, शक्तिशाली र धनीमानी पार्टीले आफ्नो पार्टी कार्यालय बनाउन नसक्ने ? यो कुरा एमाले नेताले भनेको हो । मैले पनि यो कुरा त मलाई पनि उचितै लागेको भनें । नेताहरुले बोलेको कुरालाई कसरी विश्वास गर्ने ? व्यवहारले होला नि, व्यवहारमा त सफल देखिन्नँ । आफ्नो घर बनाउन नसक्नेले देश बनाउँछु भनेर मान्छेले पत्याउँछ ? यो भनेको इमानदारिताको कुरा हो । नेताहरुको इमानदारितामा ठूलो खडेरी पर्यो । जनताले विश्वास गर्न छोडे । यो भनेको देशमा यतिवेला नेतृत्वविहीनता र अराजकताको स्थिति हो । त्यो द्वन्द्वको स्थिति हो । त्यसको अन्त्यको लागि पनि इमानदारिताको जरुरी पर्छ । म नेताहरुलाई फेरि दोहोर्याए भन्छु–आफ्ना गल्तीहरुलाई पनि यहाँ उभिएर भन्नुहोस । म फेरिपनि भन्छु कि शान्ति प्रक्रियाको हत्या गरिएको छ । शान्ति प्रक्रियाको मूल आत्मा मारिएको छ । जनतालाई फेरि जहाँको त्यहीँ पुर्याईएको छ । र, तपाईंहरुले युद्ध निम्त्याउँदै हुनुहुन्छ । अहिले देशमा जनताबाट तेस्रो जनआन्दोलनको माग भएको छ । यसप्रति हेक्का रहोस भन्न चाहन्छु । धन्यवाद ।’